प्रशासनमा झापाली पत्रकारको धर्ना

बिर्तामोड । झापाका पत्रकारले विधुतीय ऐन खारेज गर्न माग गर्दै बिहीवार एक घण्टा भर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मुल ढोकामा १ घण्टा धर्ना बस्दै पत्रकारमाथिको धरपकड बन्द गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आयोजित धर्नामा सरकारले विधुतीय ऐनको आधारमा पक्राउ गरेको पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गरिएको छ । धर्ना कार्यक्रम पूर्व भद्रपुरको विधुत कार्यालयबाट र्याली निकालिएको थियो , र्याली पछि धर्नासँगै सम्बोधन गर्दै फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङले सरकारले पत्रकार पक्राउ गरेर लोकतन्त्र मजबुद बनाउन नसक्ने बताएका छन् । उनले पत्रकार धरपकड नगर्न आग्रह गरेका छन् ।
यस्तै, प्रेस चौतारी झापामा सचिव प्रदीप परियारले नागरिकलाई बोल्न र पत्रकारलाई लेख्न बन्देज गराउनु निन्दनीय भएको भन्दै पत्रकारमाथिको धरपकडको निन्दा गरेका छन् । उनले सरकारलाई गलत बाटो नरोज्न आग्रह गरेका छन् । प्रेस यूनियन झापाको अध्यक्ष इन्दु पूर्वेलीले सरकार पत्रकारमाथि निरंकुश ढंगबाट प्रस्तुत भइरहेको बताएकी छन् । उनले सरकारले आफ्नो व्यवहार नसच्याए आन्दोलनमा जोडदारका साथ लाग्ने चेतावनी दिएकी छन् । धर्ना कार्यक्रम समापन गर्दै पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले लोकतन्त्र मजबुद बनाउन प्रेस स्वतन्त्र कायम गर्नु धारणा राखेका छन् । उनले प्रेस स्वतन्त्रता विना मुलुक समृद्धि हासिल नहुने उद्घोष गरेका छन् । महासंघ झापाका सचिव सन्तोष आचार्यले पत्रकारमाथिको धरपकड समाजवाद विरुद्ध हुने बताएका छन् ।