बैशाख २३, २०८२ मंगलबार

मरब क्याम्पसले दिएन सूचना, विधार्थीसँग उठाइयो साढे ५ लाख

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत एक विद्यार्थीले माग गरेको सूचना नपाएपछि क्याम्पस विरुद्ध उजुरी गरेका छन् ।
क्याम्पसको वागवानी संकायसँग सम्बन्धित विभिन्न विवरण एवं तथ्याङ्क माग गरी सूचना अधिकारीलाई निवेदन पेश गरेको एक महिना बितिसक्दा समेत सूचना नपाएपछि उजुरी गर्नु परेको बी.एड. चौथो बर्षमा अध्ययनरत विद्यार्थी बिपन तुम्रोकले बताए ।
मरब क्याम्पसमा पढाई हुने बागवानी संकाय संचालनका सन्दर्भमा विद्यार्थीबाट चर्को शुल्क असुल्ने काम भएको र त्यसमा अनियमितता भएको पाइएकाले सूचनाको हकको प्रयोग गरेर २०७५ साल चैत्र १३ गते निवेदन दर्ता गराएको तुम्रोकले बताए । क्याम्पसले सूचना लुकाउने काम गरेको बताउँदै उनले वागवानी संकायमा ठूलो अनियमितता हुन सक्ने आरोप लगाएका छन् । “सूचना दिनुको सट्टा समितिको बैठकमा पेश गर्ने गरी निवेदनमा तोक लाग्यो” विद्यार्थी तुम्रोकले भने– “क्याम्पसको सूचना अधिकारीलाई सूचनाको हकको सामान्य ज्ञान समेत नभएको पाइयो ।”
सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा गरिएको व्यवस्था बमोजिम माग गरिएको सूचना कानून बमोजिम १५ दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा सूचना अधिकारीले मागिएको सूचना उपलब्ध नगराएमा कार्यालय प्रमुख समक्ष उजुरी गर्ने र कार्यालय प्रमुखले समेत सूचना नदिएमा राष्ट्रिय सूचना आयोगमा रिट दर्ता गर्न पाउने व्यवस्था गरिएको छ ।
यस बिषयमा मरब क्याम्पस इलामका प्रमुखसँग बुझ्दा सल्लाह गरेर सूचना दिने भन्दै आलटाल गरेका छन् । “सूचना नदिने होइन दिने हो” उनले भने– “हामी समितिमा सल्लाह गरेर दिन्छौं ।” मरब क्याम्पसमा पढाई हुने बागवानी संकायमा देशभरका विभिन्न जिल्लाबाट सयौंको संख्यामा विद्यार्थी पढ्न आउने गरेका छन् । क्याम्पसले वागवानी अध्ययन गर्ने विद्यार्थीबाट प्रति विद्यार्थी पाँच लाख ५० हजार शुल्क उठाउँदै आएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]