पाँचथर प्रकरण : पोष्टमार्टम गर्न शव धरान ल्याइदै

पाँचथर । सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ । सीआईबीको टोली घटनास्थल पुगेपछि शव उठाउने कार्य सुरु भएको हो ।
मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिने भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । आज राती दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको थियो । पाँचथर मिक्लाजुङ – ३ आरुबोटेमा भएको घटनामा हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ ।