सापकोटा र पोर्तेललाई लागेको आरोप झुटो सावित

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेललाई लागेको आरोप झुटो सावित भएको छ ।
नदीजन्य सामग्री उत्खनन् गरेर सापकोटा र पोर्तेलले अन्यत्रै राखेको आरोप लगाइएको थियो । देउनिया खोलाको भेलागढी आसपासको स्थानबाट गिटी, बालुवा उत्खनन गरेर दुई जनप्रतिनिधिले राखेको आरोप लागेपछि वडा नं. ४ का अध्यक्ष होप्रसाद चुडालको संयोजकत्वमा छानविन भएको थियो ।
छानबिन समितिले गाउँ कार्यपालिकाको बैठकमा पेश गरेको प्रतिवेदनमा उल्लेखित गतिविधिमा कुनैपनि जनप्रतिनिधिहरुको संलग्नता नरहेको भनी प्रतिवेदन पेश गरेको छ ।
सो प्रतिवेदनलाई आधार मानेर गाउँपालिकाले आधिकारिक धारणा सार्वजनिक गर्दै सो घटनामा जनप्रतिनिधिको संलग्नता नरहेको बताएको छ ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले मंगलवार विज्ञप्ति जारी गर्दै नदी जन्य सामग्री उत्खनन् गरेर अन्यत्र राखेको विषयमा वडाध्यक्ष सापकोटा र कार्यपालिका सदस्य पोर्तेलको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
देउनिया खोलाको भेलागढी आसपासको स्थानबाट गिटी, बालुवा उत्खनन् गरी टोल बिकास संस्था मार्फत चालु आर्थिक वर्षमा स्तरबृद्धि गरिएका सडकहरुमा ग्राभेल विछ्याउनका लागि वडा नं. १ का वडाअध्यक्ष त्रिलोचन सापकोटा संयोजक र कार्यपालिका सदस्य सागर पोर्तेल सदस्य सचिव रहेको समिति गठन गरिएको थियो ।