स्मृति र अनुभूति नामक कृतिको लोकार्पण

बिर्तामोड । कवि तथा साहित्यकार इन्द्रप्रसाद कटुवालद्वारा लिखित स्मृति र अनुभूति नामक कृतिको शनिवार आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
जयेन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा कोषको विर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा स्रष्टा कटुवालद्वारा लिखित स्मृति र अनुभूति कविता संग्रहको प्रमुख अतिथि भट्टराईले लोकार्पण गरेका छन् ।
कृति लोकार्पण गर्दै प्रमुख अतिथि डा. भट्टराईले पुस्तक पठन संस्कृति कम हुँदै जाँदा लेखकहरु अप्ठ्यारो स्थितिमा रहेको बताए । कार्यक्रममा बोल्दै उनले प्रविधिको विकासले पढ्न भन्दा सुन्न सहज भएका कारण लेखकलाई पाठक र बजार खोज्ने चुनौति बढेको बताए । सहजताका कारण किताब कम पढिन थालेपनि पुस्तकको दीर्घकालिन भविष्य हेरेर लेखनमा लागि रहनुपर्ने बताएका छन् ।
सो अवसरमा बोल्दै कृतिका लेखक कटुवालले समाजमा नैतिकता हराएर विकृति बढ्दै गएकोप्रति असन्तुष्ट स्रष्टा कटुवालले पुस्तकमा सुसंस्कार, नैतिकता, देशभक्ति, पर्यावरण लगायत समसामयिक विषयहरु समेटिएको छ । कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल, यज्ञराज प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा अर्याल, विनोद खनाल, बाबुलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नुरज भट्टराई (नदी) ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मातृका संग्रौलाले गरेका थिए भने कृतिको समीक्षा साहित्यकार देवी संग्रौलाले गरेका थिए । लेखकको व्यक्तित्वबारे भरत भट्टराईले प्रकाश पारेको कार्यक्रममा गीता सुवेदी नेपाल, सिसा थारु, आरती पोखरेल, जय आचार्य, पुष्पलाल प्रसाई, हरिनारायण भट्टराई, मीना अधिकारी, त्रिलोचन भण्डारी, शिव अधिकारी लगायतले रचना वाचन गरेका थिए ।
विपि विचार समिति गठन
झापाको विर्तामोडमा आयोजित एक भेलाले विपि विचार राष्ट्रिय समाज जिल्ला समिति झापा गठन गरेको छ । विर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित भेलाले हर्कलाल गिरीको अध्यक्षतामा समिति गठन गरेको हो । विनोद गौतम सचिव रहेको समितिको सदस्यहरुमा दमकका नवलचन्द्र गुरागाँई, मेचीनगरका हरि संग्रौला विर्तामोडबाट बालादेवी खरेल, युवराज प्रसाई, नरेस धिमाल रहेका छन् ।
नवगठित समितिको पहिलो बैठकले उपाध्यक्षसहितका पदाधिकारी चयन गर्नुका साथै १५ वटै स्थानीय तह, क्षेत्र, क्लष्टर र भूगोला मिलाएर समितिलाई पूर्णता दिने बताइएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको अध्यक्षता भेला सम्पन्न भयो ।