बैशाख २०, २०८२ शनिबार

रोहितको शतकमा भारत विजयी

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।


२२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । १४४ बलको सामाना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै महेन्द्रसिंह धोनीले ३४ रन बनाउँदा केएल राहुलले २६ रन बनाए । कप्तान विराट कोहली भने १८ रनमा आउट भए ।


बलिङतर्फ कागिसो रबडाले दुई विकेट लिए । यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएपछि भारतले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।


दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । यता, कागिसो रबडा भने ३१ रनमा अविजित रहे । त्यस्तै, रसिइ भान डेर डुसेनले २२ रन बनाए ।


दक्षिण अफ्रिकाको मध्यम स्कोर बन्नुमा क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै उकासेका थिए । बलिङतर्फ भारतका युजभिन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए ।


लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको अगाडिको यात्रा निकै कठिन भएको छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]