विश्वविजेता फ्रान्ससँग एन्डोरा पराजित

काठमाडौं । विश्वविजेता फ्रान्सले युरोकप छनोट फुटबलमा एन्डोरामाथि सहज जित निकालेको छ ।
मंगलबार राति समूह एचको खेलमा फ्रान्सले एन्डोरालाई ४–० गोलको जित निकालेको हो । फ्रान्सको जितमा केलियन एम्बाप्पे, बेन यडर, फ्लोरियन थाउभिन र कर्ट जुमाले गोल गरे ।
खेलको ११औं मिनेटमा नै एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यस्तै, यडरले ३०औं मिनेटमा गोल परेपछि फ्रान्सले २–० गोलको अग्रता बनायो । एकपछि अर्कोे गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्न सफल भयो । योपटक भने थाउभिनले गोल गर्न सफल भए ।
पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा एक गोल थप्न सफल भयो । खेलको ६०औं मिनेटमा जुमा गोल गर्दै फ्रान्सलाई ४–० गोलको जित दिलाए ।
चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको फ्रान्सको ९ अंक भएको छ । समूह एचअन्तर्गत नै भएका अन्य खेलमा टर्की आइसल्यान्डसँग २–१ गोलअन्तरले पराजित भएको छ । यता, अल्बानियाले भने माल्डोभालाई २–० गोलअन्तरले पराजित गरेको छ ।