भारतीय क्रिकेट टिममा जर्सीको विवाद
एजेन्सी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिम आइतबार इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नयाँ जर्सीका साथ मैदानमा उत्रिने भएको छ ।
भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले शुक्रबार भारतीय टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । केही हप्तादेखि सामाजिक सञ्जालमा भारतीय टिमको वैकल्पिक जर्सीका बारेमा चर्चा भैरहेको थियो । बीसीसीआईका अनुसार आइतबार इंग्ल्याण्डविरुद्धको खेलमा भारतीय टिम सुन्तला रंगको नयाँ जर्सीमा मैदानमा उत्रिनेछ ।

फुटबल प्रतियोगितामा झैँ अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेटमा पनि उस्तै–उस्तै जर्सी लगाउन नदिने भएको छ । त्यसैले क्रिकेटमा होम एण्ड अवेका आधारमा टिमले जर्सी लगाउन पर्नेछ । इंग्ल्याण्ड आयोजक भएकाले पुरानै जर्सीमा खेल्नेछ भने भारतीय टिम सुन्तला रंगको जर्सीमा खेल्नेछ ।
जर्सीमा विवाद
भारतीय क्रिकेट टिमको नयाँ जर्सीका बारेमा भारतीय राजनीतिक वृत्तमा ठूलै चर्चा र विवाद भैरहेको छ । विपक्षी राजनीतिक पार्टीहरुले भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय क्रिकेट टिमको जर्सी पार्टीकै ब्राण्ड कलर ‘गेरु’ बनाएको आरोप लगाएका छन् ।
तर आईसीसीका अनुसार भने बीसीसीआईले कुनै राजनीतिक विचारधारा नबोकी इंग्ल्याण्डको जर्सीभन्दा अलग देखिन आफूहरुले सुन्तला रंग छानेको बताएको छ ।
भारतीय बलिङ प्रशिक्षक भरत अरुणले पनि वेष्ट इण्डिजसँगको खेलअघि बुधबार आफूहरुले इंग्ल्याण्डविरुद्धको खेलमा कस्तो जर्सी लगाउने भन्ने थाहा नभएको बताएका थिए ।
जारी विश्वकपमा भारत एक मात्र अपराजित टोली हो । ६ खेलबाट ११ अंक प्राप्त गरेको भारतलाई सेमिफाइनलमा पुग्न बाँकी ३ खेलमा एक खेल मात्रै जिते पुग्छ ।