स्वास्थ्य परीक्षणका लागि झापाका तिन स्वास्थ्य संस्था छनोट
बिर्तामोड । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि झापाका तिन वटा स्वास्थ्य संस्था छनोटमा परेका छन् । ६ वटा स्वास्थ्य संस्थाले मापदण्ड पुरा गर्न नसक्दा छनोटमा पर्न सकेनन् ।

परिक्षणका लागि दमकको बुद्ध डाइग्नोष्टिक एण्ड मेडिको सर्भिसेस प्रालि, शान्ति बुद्ध मेडिकल सेन्टर बिर्तामोड –१ र प्रधान डाइग्नोष्टिक सेन्टर प्रालि बिर्तामोडले मापदण्ड पुरा गरेका छन् ।
देशभर जम्मा ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
झापामा स्वास्थ्य परिक्षण गर्न पाउँ भन्दै आवेदन दिएर छनोटमा नपरेका ७ वटा स्वास्थ्य संस्थामा विएण्सी अस्पताल, शुभलक्ष्मी डाइग्नोटिक बिर्तामोड, गोदावरी डाइग्नोटिक बिर्तामोड, बुढासुब्बा मेडिकल प्रालि, निशान्त मेडिकल एण्ड डाइग्नोटिक सेन्टर दमक, हिमालय डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक बिर्तामोड र ओम मेडिकल डाइग्नोष्टिक प्रालि बिर्तामोड रहेका छन् ।
मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार थियो । श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए । मलेसियाले पठाएको मापदण्ड अनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको थियो । पहिलेको ३७ मध्ये अहिलेको नयाँ मापदण्डअनुसार ३६ वटा छनोट भएका छन् ।
नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । तर मलेसियाको रोजगारी चाहिँ अझै खुलिसकेको छैन । दुवै देशको प्राविधिक समूहको बैठक छिटै मलेसियामा बस्ने निर्णय चाहिँ भैसकेको छ ।