नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान पवन शर्राफ र रित गौतमले ३९ बलमा ५२ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए । रित १३ रन बनाएर आउट भए । उनले २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका खडकबहादुर बोहरा र पवनले २३ रनको साझोदारी गर्दै टिमलाई जित नजिक लगेका थिए । पवन ३९ रन बनाएर आउट भए ।
३९ रनमा आउट भएका पवनले ३६ बल फेस गर्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै खडकले ८ रन बनाएर आउट हुँदा २२ बल फेस गर्दै १ चौका प्रहार गरेका थिए । रोहित क्रिजमा आएपछि ४ रनको साझेदारी गर्दै खडक आउट भएका थिए । त्यसपछि भीम सार्की र रोहितले टिमको स्कोर ९३ रन र्पुयाएका बेला रोहित क्याच आउट भए । रोहित १२ रनमा पेभेलियन फर्किएका हुन् ।
क्रिजमा भीम र हरिबहादुर चौहानले २ रन लिँदै नेपाललाई च्याम्पिएन बनाए । भीम ८ रनमा नट आउट रहँदा खाता नै नखोली हरिले साथ दिए । हङकङका मोहम्मद हसन खान, मोहम्मद हसन र रौनक कपुरले एक–एक विकेट लिए ।
दुई पटक भएको टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुइँमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।
नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले ५ विकेट लिए । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले शून्य रनमै तोडेका थिए ।
तेस्रो विकेटका लागि भने हङकङले भने २९ रनको साझेदारी गरेको थियो । अदित गोररा र कालन मार्कले यो साझेदारी गरेका थिए । तर मार्कलाई हङकङको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो शिकार गरे ।
मार्क जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाब बनाउने प्रयास गरेका थिए । त्यसपछि चौथो विकेटको साझेदारी पनि शून्यमा नै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिइ पेभेलियनको बाटो देखाए । पाचौँ विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो ।
उक्त साझेदारीलाई पनि सागरले नै तोडे । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो । छैटौं विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीको व्यक्तिगत पहिलो सफलता भए पनि टिमका लागि भने छैटौं सफलता थियो ।
अरोरा हङकङबाट सर्वाधिक २४ रन बनाउने खेलाडी हुन् । उनी भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए । टिमका लागि सातौं सफलता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरेका हुन् । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो ।
अन्तिममा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक–एक विकेट लिए ।
श्रीलंकामा यू १९ एसिया कप अगस्ट र सेप्टेम्बरमा आयोजना हुँदैछ । जसमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।