विपद् आयो, सुरक्षित बसौं
केहि दिनदेखि मनसुन शुरु भएको छ । निरन्तरको मनसुनले जताततै बाढिपहिरोको जोखिम छ । प्राकृतिक विपत्तिको संभावना हुने यो समयमा आम नागरिक सुरक्षित बस्नुपर्ने हुन्छ । हरेक वर्ष विपद्कै कारण धनजनको क्षति भइरहेको छ । धनजनको क्षति हुन नदिन बेलैमा सचेतना अपनाउनु पर्ने देखिन्छ । यसको लागि जोखिम क्षेत्रका नागरिक स्वयम् सचेत हुनुपर्छ र राज्यका हरेक निकाय जोखिम कम गराउन पूर्व तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ ।

झापा जिल्ला पनि बाढिको जोखिम जिल्लाको रुपमा मानिन्छ । यहाँ हरेक वर्ष मानवीय र धनमालको समेत क्षति हुने गरेको छ । पूर्व सतर्कतामा कमजोरी हुँदा क्षति व्यहोर्नुपर्ने अवस्था फेरि दोहोरिनु हुँदैन । फेरि त्यहि अवस्था दोहोरियो भने नागरिकप्रति राज्यको उत्तरदायित्वमा प्रश्न खडा हुने छ । राज्य नागरिकको सुरक्षामा जवाफदेहि हुनैपर्छ । जिल्लाका ठुला नदिमा पानीको बहाब बढिरहेको छ । नदी किनारमा जीवन विताइरहेका नागरिक त्रासपूर्ण जीवन गुजारिरहेका छन् । उनीहरुको सुरक्षा प्रति संवेदनशील हुनैपर्छ ।
यो वर्ष मनसुनले उत्पन्न गर्ने जोखिम नदी र पहाड क्षेत्रमा मात्र छैन । समथर भू–भागमा पनि उत्तिकै जोखिम छ । देशभर विकासको काम भइरहेको छ । विकासको काम भइरहेको ठाउँमा संरचना निर्माणले खनिएका ठाउँहरुमा पनि जोखिम छ । पानीको निकास हुने स्थिति छैन । भौतिक पूर्वाधार तर्फको विकासमा संरचना निर्माण भइरहेको कतिपय ठाउँ जोखिमपूर्ण छन् । यसैले यो वर्खा त्यहाँको लागि पनि खतरा छ । यसैले जिल्लामा रहेको विपद् व्यवस्थापन समितिले चनाखो बन्ने समय आइसकेको छ । स्थानीय तहले प्रभावकारी रुपमा सुरक्षा दिन अपरिहार्य छ ।