मन्त्री कार्कीको ग्राण्ड डिजाइन : ‘म अघि बढ्छु’ मार्फत बालबालिकालाई नैतिकवान बनाउने
विर्तामोड । प्रदेश १ का २ लाख ५० हजार बिद्यार्थीलाई प्रदेश १ सरकारले नैतिक शिक्षा प्रदान गर्ने भएको छ ।

प्रदेश १ सरकारले ‘म अघि बढ्छु’ कार्यक्रम मार्फत १४ जिल्लाका कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीलाई सक्षम, सबल, जिम्मेवार ,चरित्रवान, सकारात्मक बनाउन यो कार्यक्रम तयार गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले १३ देखि १९ बर्ष उमेरका बिद्यार्थीलाई नैतिकवान बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताएका छन् ।
आज बिराटनगरको जैन भवनमा मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । आजको किशोर किशोरी देशका कर्णधार,यिनीहरुको सक्षमता नै समुन्नतिको आधार नारा सहित अघि सारिएको सो कार्यक्रममा हरेक बिधालयमा सगरमाथा टिन्स क्लब गठन गर्ने नीति छ ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम संचालन कार्यविधी मन्त्रीपरिषदबाट प्रमाणित भैइसकेको छ । विद्यालयस्तरमै लागुऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको ‘म अघि बढ्छु’ कार्यक्रम भाेलीबाट शुभारम्भ हुदैछ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र सहरी क्षेत्रका धेरै परिवार लागुऔषध दुव्र्यसनका कारण निकै संकटमा परेको बताउँदै भने,‘‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पु¥याउने गरी कार्यक्रमको स्वरुप तयार गरेका हौं ।’’ मन्त्री कार्कीले ’म अघि बढ्छु’ कार्यक्रम सरकारकै पहलकद्मीमा गठन भएका सगरमाथा टिन्स क्लबमार्फत सञ्चालन गरिने जानकारी दिएका छन् ।
मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ । उनीहरुले हरेक विद्यालयलाई लक्षित गरी लागूऔषध प्रयोग, यसको जोखिम, प्रभाव र सामाजिक रुपमा पार्न सक्ने खतराबारे सचेतना दिनेछन् । उनीहरु सबै स्वयम्सेवकका रुपमा नियुक्त भएको बताउँदै मन्त्री कार्कीले भने,‘‘विद्यालयमा लागुऔषधबारे एउटा छुट्टै कक्षा सञ्चालन गरिने छ । विपद्को जोखिम र यसबाट बच्ने उपायबारे पनि शिक्षा दिइने छ ।’’
यसले किशोरकिशोरीलाई शैक्षिक सचेतनाका कार्यक्रम चलाउने, दुव्र्यसन, चेलीबेटी बेचबिखनकोविरुद्ध अभियान, सामाजिक क्रियाकलाप, प्राकृतिक प्रकोपबारे सचेतना, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । उक्त अभियानको ग्राण्ड डिजाइनर मन्त्री कार्की रहेका छन् ।