इष्टुको भद्रपुर नगरमा अधिकारी
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको प्रथम नगर अधिवेशनले द्रोण अधिकारीको नेतृत्वमा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ ।

३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे, सहसचिव विकास राजवंशी र कोषाध्यक्ष माया चौहानलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी सदस्यहरूमा क्रमशः मिनकुमार अधिकारी, रमेश भट्टराई, देवीप्रसाद सुवेदी, मानबहादुर राई, मदनबहादुर थापा, दुर्गा घिमिरे, नुतन थापालाई सर्वसम्मत चयन गरिएको छ । बाँकी सदस्यहरू भूगोल, विद्यालयको प्रतिनिधित्व र संरक्षित कोटाका आधारमा समितिले मनोनयन गर्ने व्यवस्था सहित राखिएको छ ।
नगर संयोजक द्रोण अधिकारीको अध्यक्षता तथा इस्टु केन्द्रीय समितिका सदस्य बालकृष्ण दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा इस्टु केन्द्रीय सदस्य एन पी लामिछाने, विर्तामोड नगर अध्यक्ष रमा ढुंगाना, शिक्षक महासंघ भद्रपुर नगर अध्यक्ष गणेश गिरी, ग्यालेक्सी इङ्लिस स्कुलका प्रिन्सिपल वेदप्रकाश घिमिरे लगायतले मन्तव्य राख्दै सरकारी नीति अनुसार विद्यालयको व्यवस्थापन चल्नु पर्नेमा जोड दिएका थिए ।
सो अधिवेशनले ३ बुँदे नगर घोषाण समेत पारित गरेको छ । सामाजिक सुरक्षा योजना अविलम्ब लागु गरिनु पर्ने, विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्ति पत्र अनिवार्य दिइनु पर्ने र सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनिवार्य लागु गरिनु पर्ने माग सहितको नगर घोषणा पारित गरेको हो ।