आगलागी पीडितले मागे क्षतिपूर्ति, सञ्चालकले भने– विवेकपूर्ण निर्णय मात्र मान्य हुनेछ
बिर्तामोड । शनिवार राति हनुमान सेन्टरमा लागेको आगलागीबाट भएको क्षति मलका सञ्चालकले व्यहोर्नुपर्ने माग उठेको छ । आगलागीले पूर्ण क्षति भएको इरिकका सञ्चालक दिनेश पाठकले पुनः व्यवसाय गर्ने वातावरण मिलाई दिन आग्रह गरेका छन् ।
आगलागीबाट उत्पन्न परिस्थिति समाधान गर्न गठित समितिलाई आगलागी पीडित पाठकले आफ्नो लगानी वापतको ९१ लाख क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । समितिले आवश्यक छलफल र घटनाको यथार्थ बुझेर मात्र अघि बढे जनाएको छ ।
यता, बिर्तामोडका घरधनीहरुले पसल आगो लाग्दैपिच्छे क्षति व्यहोर्न नसकिने प्रतिक्रिया दिएका छन् । उनीहरुले आगलागीबाट भएको क्षति घर साउले व्यहोरेर साध्ये नहुने बताइरहेका छन् । हनुमान सेन्टरका सञ्चालकले सामाजिक न्याय हुने गरी निर्णय गरिदिन समितिसँग माग गरेका छन् ।
उनीहरुले माग गरे बमोजिम क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको बताएका छन् । घरधनी, स्थानीय सरकार, व्यवसायी, वाणिज्य संघ र सुरक्षा निकायको छलफलले गरेको न्यायोचित निर्णय मान्न आफुहरु तयार रहेको कम्प्लेक्स सञ्चालक प्रवेश सरियाको भनाई छ । उनले क्षतिपूर्तिको सवालमा विवेकपूर्ण निर्णय मात्र मान्य हुने प्रतिक्रिया दिएका छन् ।
व्यवसायीहरुले कम्प्लेक्सभित्र सुरक्षाको सवाल उठाएका छन् । यता, कम्प्लेक्स सञ्चालकहरुले केहि सुरक्षामा समस्या भएपनि आगलागीको मुल कारण खोजिनु पर्ने विषय उठाएका छन् । आगामी दिनमा व्यवसायी र मल सञ्चालककै समन्वयमा सुरक्षा व्यवस्था मिलाईनु पर्ने समितिको जिकिर छ ।
पूर्ण रुपमा क्षति भएको इरिक पसलका सञ्चालकले विमा नगरेका कारण आफ्नो क्षति उठाउन समस्या हुन सक्ने बताइएको छ ।