बिर्तामोडमा व्यवसायी अपहरण गर्ने गिरोहलाई थपियो संगठित अपराध मुद्दा
बिर्तामोड । झापाको विर्तामोडमा व्यापारी अपहरण गरेर फिरौति माग्ने गिरोहलाई संगठित अपराध मुद्दा समेत दर्ता भएको छ ।

फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले साउन ५ गते पक्राउ गरेको थियो । व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गर्ने बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम – १ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने २० वर्षीया रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षी सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई इलाका प्रहरी कार्यालय अनामरनीमा थुनामा राखिएको छ ।
उनीहरुलाई यसअघि अपहरण तथा शरिर बन्धक, अपराधिक लाभ र लागुऔषध मुद्दा दर्ता गरिएको छ । तिन वटा मुद्दा लागेकोमा अहिले अर्को पनि थप गरिएको छ, डिएसपी मोहन थापाले भने– संगठित अपराध ऐन–२०७० बमोजिम मुद्दा थप भएको हो । ऐनले जघन्य अपराधमा तिन जनाभन्दा बढि व्यक्तिको सहभागी र योजनाबद्ध घटना भएमा संगठित अपराध मुद्दा चलाउने व्यवस्था छ ।
सो मुद्दाले जम्मा सजायको ५० प्रतिशत सजाय थप गराउने ऐनमा उल्लेख छ । अपहरण तथा शरिर बन्धकमा १० वर्ष, अपराधिक लाभ ७ वर्ष र लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ । जम्मा २२ वर्षमा संगठित अपराध मुद्दाले ११ वर्ष थप गर्न सक्ने डिएसपी थापाको भनाई छ ।
सो सगरोहले बिर्तामोड–४ कुमारी बैंक पछाडिको गल्लीमा घर भाडामा लिई व्यवसायी अपहरण गरेका थिए ।