विवादित गुप्ता र डाँगीले छोडे लक्ष्मी मावि
बिर्तामोड । विधालय प्रवेशदेखि नै विवादमा परेका अर्जुनधारा–६ स्थित लक्ष्मी माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले कार्यरत विधालय छोडेका छन् । उनले साउन १७ गते रमाना लिएर अर्को विधालय गएको सूचना प्राप्त भएको छ ।

अर्जुनधारा नगरपालिकामा उनले आफ्नो सरुवाको लागि प्रक्रिया अघि बढाएका थिए । उनको प्रक्रियामा नगरपालिका सकारात्मक भएपछि उनले सरुवाको सबै प्रक्रिया मिलाएर झापा गाउँपालिकाको डिल्लीराज मावि गएका छन् । उनी सोहि विधालयका पूर्व शिक्षक पनि हुन् ।
विधालय प्रवेश भएयता लगातार विवादमा परेका गुप्ताले विधालयको चौतर्फी क्षेत्र विवादित बनाएपछि अभिभावक र स्थानीय शिक्षा सरोकारवाला रुष्ट थिए । विधालयमा मनोमानी गरेको आरोप लामो समय देखि उठ्दै आएको थियो । उनले विधालयमा मनपरी गरेका कारण विधालयका अन्य शिक्षक कर्मचारी समेत रुष्ट थिए ।
विधालयमा लगाएको पुराणको हरहिसाव पारदर्शी नगरेको भन्दै स्थानीय चन्दादाताले कबुल गरेको सहयोग समेत दिएका थिएनन् । प्रअ गूप्ताकै अपारदर्शी व्यवहारका कारण केहि चन्दादाताले सहयोग फिर्ता समेत मागेका थिए । सोहि समयदेखि विवादमा तानिएका गुप्ताले विधालयको व्यवस्थापन समिति समेत बन्न नदिएको आरोप छ । उनले आफुले भनेको मान्ने शिक्षकलाई सहज बनाइदिने र मन नपरेकालाई दुःख दिदै आएको पीडित शिक्षकको भनाई छ । उनले मनखुशी नीजि शिक्षकलाई कामबाट हटाएर तलव समेत नदिएको बताइएको छ ।
व्यवस्थापन समिति बन्न नदिने, सचेत अभिभावकलाई विधालयको बारेमा कुनै कुरा जानकारी नगराउने, विधार्थीविचमा भ्रम फैलाउने लगायतका दर्जनौ आरोप गुप्तालाई लागेको छ ।
उनले विधालयमा आफ्नो छोरा अध्ययन गरुञ्जेल अंग्रेजी माध्यम सञ्चालन गरेर अभिभावकको सहमति विना फेरि हटाएको, कक्षा १२ मा भर्ना हुने विधार्थीलाई पत्राचार गरेर अर्को विधालय जान संकेत गरेको विषयले पछिल्लो समय थप विवादमा तानिदैं आएका थिए । यहि वर्ष सञ्चालन भएको कक्षा १२ को परीक्षामा चरम लापरबाही गरेको कारण पूर्व विधार्थीले गुप्तालाई विधालयबाट हटाउन माग गरेका थिए । उनले आफ्नो श्रीमतिलाई समेत आफुखुशी जागिर लगाएको आरोप स्थानीयको छ ।
यस्तै, गुप्ताको कुशल सहयोगी घनश्याम डाँगीले समेत विधालय छोडेको एक शिक्षकले जानकारी दिए । गत वर्षको कक्षा ११ को परीक्षामा सहभागी भएका डाँगीले विधालय बाहिर बसेर परीक्षा लेखेको आरोप लागेको थियो । सोहि परीक्षामा सहयोग गरेको भन्दै गुप्ता थप विवादमा परेका थिए । परीक्षा केन्द्रबाट बाहिर बसेर परीक्षा लेखेको आरोपमा उनलाई समेत विधालय प्रवेशमा रोक लगाइएको थियो । डाँगी शिक्षकको नेता समेत भएकाले उनैको बलबाट गुप्ताले मनपरी गर्दै आएको बताइन्छ । डाँगी र उनको श्रीमति माया डाँगी बिर्तामोडको महेन्द्र माविमा काजमा सरुवा भएको बुझिएको छ । गुप्ता र डाँगी श्रीमति सहित सो विधालयबाट बाहिरिएका छन् । गुप्ता ०६८ देखि र डाँगी ०५७ सालदेखि सो विधालयमा कार्यरत थिए ।
लक्ष्मी माविमा महेन्द्र मावि बिर्तामोडबाट एम.ए.सी गरेकी शिक्षिका निर्मला पोखरेल सरुवा भइ आएकी छन् । उनी मावि तहको तृतीय शिक्षक हुन् । विधालय छुट्टी भएको समयमा गुप्ताले नयाँ शिक्षिका पोखरेललाई साउन १७ गते हाजिर गराएका थिए ।