६ प्रतिशत जमिन अझै बाँझै
काठमाडौं । असार सकियो । साउन पनि सकियो । धान रोप्ने मुख्य समय असार–साउन सकिएपछि रोपाइँ पनि सकिनु पर्ने हो । तर, नेपालको मुख्य बाली धान रोपाइँ अझै ६ प्रतिशत खेतमा बाँकी छ ।

कृषि मन्त्रालय अन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार भौगोलिक अवस्था अनुसार अझैपनि उच्च पहाडको ३, मध्य पहाडको ९ र तराईको ५ प्रतिशत जमिन बाँझै छ । नेपालमा कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।
जसमध्ये हालसम्ममा १२ लाख ९५ हजार २ सय ८२ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । नेपालका खेती योग्य जमिनमध्ये धान उत्पादन हुने क्षेत्रफलमा १३ हजार २ सय १८ हेक्टर क्षेत्रफल जमिन बाँझै रहेको देखिन्छ । तर गतवर्ष यहि अवधिमा भने १३ लाख ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ भने अन्य प्रदेशमा रोपाइँ सम्पन्न हुन बाँकी नै छ । त्यसैगरी १ नम्बर प्रदेशमा ९३.४९ प्रतिशत, २ नम्बर प्रदेशमा ९३.३१ प्रतिशत, ३ नम्बर प्रदेशमा ९६.९५ प्रतिशत, गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत, ५ नम्बर प्रदेशमा ९४.३९ प्रतिशत, कर्णाली प्रदेशमा ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
समग्रमा ९४.४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष यहि अवधिमा ९५.३९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
त्यसैगरी भौगोलिक अवस्था अनुसार उच्च पहाडमा ९७.९३ प्रतिशत, मध्य पहाडमा ९१.९५ प्रतिशत र तराईमा ९५.४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यहि अवधिमा भने उच्च पहाडमा ९६.४४ प्रतिशत, मध्य पहाडमा ९४.१६ प्रतिशत र तराईमा ९५.७८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।