विद्यार्थी आन्दोलन र अबको दिशा
नारायण पोखरेल
विधार्थी र राजनीति
नेपालको विद्यार्थी आन्दोलनको इतिहास अत्यन्तै गौरवपुर्ण रहेको छ । आज नेपालको राजनीतिज्ञहरु हेर्न हो भने सबै दलको शिर्ष स्थानमा विद्यार्थी राजनीतिबाट उदाएका नेताहरु पाउन सकिन्छ । मुलुकको सबै राजनीतिक परिवर्तनको निम्ति सघर्षको अग्रमोर्चामा शिरमा कफन बाधेर विद्यार्थीहरु नै हुने गर्दथे । सबै राजनीतिक दलको नर्सरीको रुपमा विद्यार्थी संगठनलाई आज पनि लिने गरिन्छ । विद्यार्थी समाज रुपान्तरणको प्रमुख शक्ति हो ।

नेपाली राजनीतिलाई वर्तमान अवस्थासम्म ल्याउनमा विद्यार्थी राजनीतिको महत्वपूर्ण भुमिका रहेको छ । हिजोको इतिहासलाई फर्केर हेर्दा विद्यार्थी राजनीति बिना कुनै पनि राजनीतिक मुद्दाहरु सफल भएका छैन । नेपालमा वि.स. २००४ सालमा जयन्तु सस्कृतम आन्दोलनबाट विद्यार्थी आन्दोलनको सुरुवात भएको पाइन्छ । वि.स. २००६ सालमा नेकपाको स्थापना भए लगत्तै नेकपाको बिचार सिद्धान्तलाई आत्मसात गरि संगठित रुपमा पहिलो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (ने.रा.बि.फे) को स्थापना भयो ।
वि.स. २०१७ सालमा राजाले राजनीतिक दलहरुमाथि प्रतिवन्ध गरेपछि दलहरु खुलेर राजनीति गर्न नपाउने अवस्था आयो । उक्त समयमा जनतामा राजनीतिक चेतना बढाई नेपाली जनताको मुक्तिको निम्ति संगठित रुपमा सघर्ष गर्नुपर्ने जिम्मेवारी पनि विद्यार्थी संगठनको काधमा आयो । विद्यार्थी आन्दोलन कै भरमा पञ्चायत विरुद्ध जनता सचेत भए । वि.स. २०२१ सालमा सुजन खरेलको नेतृत्वमा बिष्णुमती नदिको किनारमा पुष्पलालले नेतृत्व गरेको नेकपा निकट अनेरास्ववियुको स्थापना भयो ।
अनेरास्ववियुकै नितृत्वमा भएको आन्दोलनको कारण नेपाली विद्यार्थीहरुको साझा संस्था स्ववियुको स्थापना वि.स.२०२२ सालमा भएको थियो । त्यसपछि सामाजिक परिवर्तन तथा जनताको सोचमा आमूल परिवर्तन आउदै गयो । वि.स. २०२७ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन शेर बहादुर देउवाको नेतृत्वमा स्थापना भयो । नेपालमा राजतन्त्र को अन्त्य हुदाँसम्मको आन्दोलनको अग्रपङ्तीमा विद्यार्थीहरु नै थिए ।
हिजोको विद्यार्थी राजनीति
इतिहासको अध्ययन विना वर्तमानको विष्लेषण अपुरो रहन्छ । इतिहासलाई भुल्न खोज्दा भुल्न सकिएला तर छ्ल्न सकिँदैन । हिजोको विद्यार्थी राजनीतिको उपलव्धिलाई बेचेर आज विद्यार्थी राजनीति टिक्दैन । हिजो राजनीतिक व्यवस्था परिवर्तन गर्न, असमान सन्धी सम्झैताको विरुद्ध, देशको सिमाना रक्षा गर्न, विधाथीहरुलाई यातायात सुविधामा ४५ प्रतिशत छुट तथा सवै नेपालीका छोरा छोरीलाई समान शिक्षाको लागि विधार्थी आन्दोलनले महत्वपुर्ण भुमिका खेलेको थियो ।
आजको विद्यार्थी राजनीतिको अवस्था
आज विद्यार्थीहरुले राजनीति गर्न हुन्छ कि हुदैन भन्ने प्रश्न उठने गर्दछ । विधार्थीहरु सचेत वर्ग भएकोले चाहेर वा नचाहेर राजनीति भन्दा टाढा रहन सक्दैन । कुनै पनि देशको विकासमा त्यस देशको शिक्षाले महत्वपुर्ण भुमिका खेलेको हन्छ । किसानको समस्या विधार्थीले, व्यपारीको समस्या शिक्षकले , श्रमिकको समस्या किसानले बुझ्न नसके जस्तै विधार्थीको समस्या विधाथीले मात्र बुझन सक्छ । त्यसैले शिक्षामा हुने विकृतिको अन्त्यको लागि खवरदारी गर्न पनि विधार्थी संगठन आवश्यक छ ।
आज संघीय लोकतान्त्रिक गर्णतन्त्रको रुपमा मुलुक अगाडि बढिरहँदा अबको विद्यार्थी आन्दोलन व्यवस्था परिवर्तनको निम्ति नभइ रचनात्मक ढङ्गले विशुद्ध विद्यार्थीहरुको समस्याको सामाधान गर्ने हुनु पर्दछ । अब बिश्वविद्यालय र क्याम्पसहरुमा सकारात्मक ढङ्गले बिचारको बहस हुन जरुरी छ । अहिलेकोे शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने नीति निर्माणमा विधार्थी आन्दोलनले महत्वपूर्ण भुमिका खेलेको छ ।
त्यस्तै मुलुक संघीयतामा गइरहँदा शिक्षा सम्बन्धि सरकारको तिनै तहमा देखिएको समस्या त्यसबाट उत्पन्न हुने विकृतिको विरुद्ध पनि शसक्त ढङ्गले विधार्थी सगठन लाग्न जरुरी छ । नेपालको संविधान २०७२ मा व्यवस्था भएको आधारभूत तह निशुल्क र अनिवार्य तथा माध्यमिक तह निशुल्क शिक्षा को कार्यन्वयन गराउन खबरदारी गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्छ । तर, आज विधार्थी राजनीति क्याम्पस र नियमित विधार्थीको पहुँच भन्दा टाढाका कथित विधार्थीहरु नेताहरुको हातमा रहेको छ । विद्यार्थीको अधिकारको निम्ति भन्दा नि आफ्नो राजनीतिक भविष्यका निम्ति विद्यार्थी राजनीति गर्ने परिपाटी देखिन्छ ।
क्याम्पस नदेखेका विद्यार्थी नेताहरुले विधार्थीका समस्याहरु भन्दा पनि आफु आवद्ध दलको पक्ष पोषणमा बढी देखिन्छन् । विद्यार्थी राजनीति आज शैक्षिक मुद्धा भन्दा पार्टीको नेतासँग सम्पर्क बढाउँदै पार्टी राजनीतिमा स्थापित हुन चाहन्छन् । पार्टीको नेतालाई पनि आफुले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिदै छ । पार्टीभित्रको गुटवन्दीको अभ्यास गर्ने थलोको रुपमा विधार्थी राजनीतिको प्रयोग बढ्दो छ ।
त्यसैले नियमित वास्तविक विधार्थी भन्दा नेताले विश्वास गरेको उमेर काटेका बुढा व्यक्तिहरुलाई नै विधार्थी नेता बनाई रहेको छ । केही विधार्थी नेताहरु आफ्नो छोरा छोरीलाई निजी विधालयमा निशुल्क पढाएर निजी विधालय बन्द गराउछु भन्दै क्रान्तिकारी बनेको देख्दा सिद्धान्त र व्यवहार कत्ति फरक छ भन्ने बुझ्न सकिन्छ । आजका विद्यार्थी नेताहरु क्याम्पसमा भन्दा नि राजनीतिक नियुक्ती लिने नेता मन्त्री तथा सांसदहरुको पिए बनी सिंहदरवार तिर केन्द्रित छन् ।
हिजो समान शिक्षाको निम्ति आवाज उठाउने विद्यार्थी नेताहरु आज निजी क्याम्पसको सम्वन्धन दिलाउन दलाली गर्ने नीजि विद्यालयको संचालक बन्ने निजी विद्यालयको पुस्तक वितरक वन्ने परिपाटी विकास भएको पाइन्छ । विधार्थीको निम्ति आन्दोलन गरेका केही विधाथी नेताहरुले निजी विधालयहरु बाट आन्दोलन वेचेको घटना पटकपटक सार्वजनिक भै रहेको छ । त्यस्ता मान्छेहरुलाई संगठन र पार्टीले कार्वाही नगरेको देख्दा संगठन र पार्टी नेतृत्वको पनि संलग्नता छ कि भन्ने आशा देखिन्छ ।
अबको विद्यार्थी राजनीति
अहिले नेपालको विद्यार्थी आन्दोलन गन्तव्य बिहिन भएर फसेको छ । सत्तापक्ष दल नेकपाको एकीकरणको कारणले अनेरास्वविु र अखिल क्रन्तिकारी पनि एकिरण हुने चरणमा छन् । अहिले संगठनको नाम अनेरास्ववियू र संगठनको संयोजक सहसंयोजक र कमिटीको संख्या टुगिएको छ । तर लामो समय देखि जिम्मेवारी विहीन वनेका केन्द्र , जिल्ला र क्याम्पसको नेताहरुमा निरासा छाएको छ । त्यस्तै नेपाली कांगे्रस निकट नेवि संघको आन्तरिक विवाद र महाधिवेशन नगरेको कारणले केन्द्रिय कमिटी भङ्ग भएको अवस्था छ ।
यो अबस्थामा नेपाली विद्यार्थी आन्दोलनलाई निश्चित दिशामा डोहो¥याउन विद्यार्थीहरुले विशेष भूमिका खेल्नु आवश्यक छ । नेपाली विद्यार्थी आन्दोलनलाई सहि दिशामा ल्याएर शैक्षिक आन्दोलनलाई उत्कर्षमा पु¥याउनु अति आवश्यक छ । एक हिसावले राज्य व्यवस्था परिवर्तको आन्दोलन गर्ने समय सकिएको छ । अबको विद्यार्थी राजनीति व्यबहारिक शिक्षाको निम्ति यहाँको माटो सुहाउने शिक्षाको निम्ति खबरदारी गर्न आवश्यक छ । विद्यार्थी राजनीति कस्ले गर्ने भन्ने प्रश्न को जवाफ सबैलाई बुझाउनु जरुरी छ ।
अब जसको निम्ति आवाज उठाउने हो त्यही बर्गले त्यसको नेतृत्व गर्न पाउनु पर्छ । विद्यार्थी नेता बन्न को निम्ति विद्यार्थी हुनु पर्ने हुन्छ । यदि राजनीति गर्ने विद्यार्थी हुने हो भने फेरि पनि केही हुने वाला छैन । तर, जो आफू पढ्न जाँदा आफ्ना समस्या देखेको छ । त्यसलाई विद्यार्थी राजनीतिको कार्यभार दिनु जरुरी छ । पार्टीको जिम्मेवारीमा रहेका, राजनीतिक नियुक्ति तथा सांसद मन्त्रीको पिए भएका, नियमित क्याम्पस नजाने , आर्थिक अनियमिततामा मुछिएका,जस्ता व्यक्तिहरुलाई विधाथी राजनितीबाट विदा गरिनु पर्दछ ।
सरकारी सेवा सुविधा लिएको व्यक्तिहरुबाट विधार्थी आन्दोलनले गति लिन सक्दैन । समाज र शैक्षिक गतिविधीको विकृतीको अन्त्य गर्छु भन्ने विधार्थी नेताहरुले सर्वप्रथम आफ्नो आचरण सुधार्न जरुरी छ । दोहोरो शिक्षाको बिरोध गर्ने विद्यार्थी नेताहरुले अब सामुदायिक विद्यालय केन्द्रिय कार्यक्रमहरु गर्नु जरुरी छ । विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा लाग्न प्रोत्साहन गर्नुपर्छ । शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनमा जोड्ने शिक्षाको निम्ती शैक्षिक आन्दोलनको जोड हुनुपर्छ । नेतृत्वमा नियमित अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गरि विद्यार्थी राजनीति विद्यार्थीको हातमा जिम्मा लगाउनु अब को आवश्यकता हो ।