लामिछानेसहित तीन जनाविरूद्ध मुद्दा दर्ता, पाँच वर्ष कैद र पचास हजार जरिवाना
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।

प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो । यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो ।
उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो । अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ । बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ ।
बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ । आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय हुन्छ । सेतोपाटीबाट