पुल तरेको पाँच रुपैंया
बिर्तामोड । गौरीगञ्ज गाउँपालिका – २ र ३ को सिमामा पर्ने कृष्णे खोलामा एक स्थानीय व्यक्तिले पुल निर्माण गरेर आफुखुशी शुल्क लिइरहेका छन् । उनले गौरीगञ्ज गाउँपालिकाको अनुमति विना कृष्णे खोलामा पुल बनाएर तरेको शुल्क लिने गरेको पाइएको छ ।

नजिकै हुलाकी मार्गको पुल निर्माण भइरहेको छ । सोहि पुल निर्माण पछि त्यहि बाटो सञ्चालन हुने भएपनि हाललाई आवात जावत गर्न पुलको समस्या छ । सोहि समस्याको फाइदा उठाउँदै स्थानीय सत्य नारायण राजवंशीले पुल निर्माण गरी प्रयोग गरे वापत रकम लिइरहेका छन् ।
एक जना व्यक्ति पार गरेमा रु ५, साइकल सहित पार भएमा १० र मोटर साइकल सहित पुलको प्रयोर गरेर खोला तरेमा २० रुपैंया लिदैं आएको राजवंशीले बताएका छन् । उनले ठेक्कामा लिएर उठाएको भने पनि गाउँपालिकालाई कुनै जानकारी छैन ।
यसबारे गौरीगञ्ज – २ का वडा सदस्य नेत्र राजवंशीले नीजि खर्चमा पुल बनाएकोले शुल्क लिएको स्वीकार गरेका छन् । उनले भने, गाउँपालिकालाई जानकारी छैन । उनको भनाई अनुसार वडा नं. २ कै मौखिक अनुमतिमा शुल्क लिने काम भइरहेको छ । करिव १० हजार लगानी गरेर बाँसबाट निर्मित पुल राजवंशीले आफै बनाएका हुन् । सो रकम सहयोग गरेर वडाले आफै पुल निर्माण गर्न सकेको छैन ।
कृषि अनुदानमा चरम घोटला गर्ने सोहि वडाका जनप्रतिनिधिले यस पुल निर्माण बारे कुनै चासो समेत नदिएको स्थानीय बताउँछन् । एक स्थानीयले भने, आवात जावातका लागि सेवा दिने जनताले थोरै शुल्क लिनु अस्वभाविक होइन । यसबारे पुल प्रयोग गर्दै गरेका जीवन महतोले वडा कार्यालयले १० हजार समेत खर्च गरेर सुविधा दिन नसकेकोमा आश्चर्य प्रकट गरे ।
पुल निर्माण गर्ने राजवंशीले भने, अलि तल्तिर पनि धर्मनारायाण राजवंशीले यस्तै पुल बनाएर पैसा उठाइरहेका छन् । उनले विधार्थीहरुलाई भने निःशुल्क सेवा दिएको सुनाए ।