बैशाख २९, २०८२ सोमबार

बिर्तामोडमा चाडवाड लक्षित सुरक्षा कडा, सर्वसाधरणलाई पर्चा वितरणसँगै माइकिङ

बिर्तामोड । चाडवाड लक्षित सुरक्षालाई थप मजबुद बनाउन इलाका प्रहरी कार्यालय अनारमनीले नागरिकलाई सचेतना सामग्री बितरण गरिरहेको छ । केहि दिनदेखि इलाका प्रहरी कार्यालय अनारमनीले चाडवाडमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै माइकिङसँगै पर्चा वितरण गरिरहेको डिएसपी मोहन थापाले जानकारी दिए ।

उनकै नेतृत्वमा माइकिङसँगै सुरक्षा सचेतना सामग्री वितरण भइरहेको छ । बिर्तामोडको चोक–चोक, बजार क्षेत्र, बसपार्क, बस स्टेण्ड र सार्वजनिक स्थलमा माइकिङसँगै पर्चा वितरण भइरहेको छ । प्रहरीले सचेतना सामग्रीमा दशै, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वहरुमा चोरी लुटपाट, डकैती, ठगी जस्ता विभिन्न अपराध हुनसक्ने हुनाले व्यक्तिगत सुरक्षामा सचेत रहन नगरबासी बुबा, आमा, दाजु–भाई दिदी–बहिनीहरुमा अनुरोध गरेको छ ।

पर्चामा लेखिएको छ, भिडभाड हुने स्थानमा वा किनमेल गर्न जाँदा आफ्नो पर्स, पैसा, मोवाइल आदिको बिशेष ख्याल राख्नुहोस् , वैंक तथा वित्तिय संस्थावाट रकम झिक्दा र राख्दा रकमको सुरक्षामा विशेष चासो दिनुहोस । बहुमुल्य गरगहना लगाई भिडभाड तथा एकान्त ठाउँमा एक्लै हिडडुल नगर्नुहोस, अपरिचित व्यक्तिहरुले दिएको खानेकुरा तथा पेय पदार्थ नखानुहोस्, घरबाट बाहिर निस्किदा अनिवार्य ताला लगाउनुहोस्, घरकोठा लामो समय छाडेर चाडपर्व मनाउन जाँदा छिमेकी वा प्रहरीलाई जानकारी गराउनुहोस ।

सपरिवार घरबाट बाहिर गएको सूचना सामाजिक संजालमा नराख्नुहोस्, शंकास्पद र अपरिचित व्यक्तिको कुनैपनि प्रलोभन तथा झुक्यानमा नपर्नुहोस्, मादक पदार्थ तथा लागु औषध सेवन गरी उच्छृंखल गतिविधि नगर्न तथा जुवा तास लंगुरवुर्जा जस्ता गैरकानूनी प्रतिवन्धित खेलमा संलग्न नहुनुहोस् ।

कुनै घटना घटन गएमा वा शंकास्पद गतिविधि देखेमा निःशुल्क फोन १०० वा ०२३–५४०१०० र ९८५२६९०५०० मा फोन गरी प्रहरीलाई जानकारी गराउन डिएसपी थापाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]