दुबई बस दुर्घटनामा ६ नेपालीको मृत्यु
युएईको दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।

एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसर सोमबार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।
ज्यान जाने नेपालीहरुमा रमेश चौधरी धनकुटा, दानबहादुर सत्याल सर्लाही, कृष्णबहादुर पुन मगर पाल्पा, नारायणप्रसाद पोख्रेल नवलपरासी, दिपक बिक धरान, नयराम साउद कैलाली रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ।
दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको युएईबाट पत्रकार रुपेश अधिकारीले जानकारी दिनुभयो ।