सभामुख यौनदुराचार प्रकरण : १ बजे राजीनामा दिने
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुहुने भएको छ । महराले मंगलबार दिउँसो १ बजे राजीनामा दिने तयारी गर्नुभएको स्रोतले जनाएको छ । महराले आफूमाथि यौन दुराचारको आरोप लागेपछि पार्टीको सुझावमा सभामुखबाट राजीनामा दिन लाग्नुभएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौनदुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।