सम्पादकीय : होप मेनपावरको अत्याचार, तत्काल अनुगमन होस्
कोहि पनि सम्पन्न भएर वैदेशिक रोजगारीमा गएको हुन्न । गरिव , विपन्नताको मारमा परेपछि आर्थिक जीवन सुधार गर्न वैदेशिक रोजगारीमा जाने गरिएको छ । तर, त्यसको फाइदा वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने व्यवसायीले उठाइरहेका छन् । गरिव, विपन्नसँग बाध्यताको फाइदा उठाउँदै उनीहरुले चर्को शुल्क लिइरहेका छन् । चर्को शुल्क एउटा पाटो हो भने कामको सम्झौता अनुसार तलवको समेत ग्यारेण्टी नहुनु अर्को पाटो हो । ऋणपान गरेर रोजगारीमा जानेहरु अपुरै सपना बोकेर फर्किने गरेका छन् । उनीहरुको घर परिवार थप विल्लीवाठ हुँदै गइरहेको छ ।
झापाको बिर्तामोड–३ का सफिर शेखको दुखान्त पनि उस्तै छ । बिर्तामोडमै रहेको होप इन्टरनेशनल मेनपावरबाट उनी ठुलो सपना बोकेर कतार उडे । तर, उनीसँग मेनपावरले गरेको कबुल पुरा भएन । ८ महिना विदेशी भूमिमा काम गरेका शेखले ५ महिनाको तलव नै पाएनन् । ३ महिना अलपत्र जीवन विताए । हारगुहार गरेर सहयोगीको साथ पाएका उनले स्वदेशसम्म फर्कन पाएका छन् । तर, वैदेशिक रोजगारीमा जाँदा भएको सम्झौता अपुरो भएपनि मानसिक रुपमा विक्षिप्त छन् । उनलाई ऋण नै ठुलो समस्या बनेको छ । मेनपावरका जीवन खड्काले १ लाख ५ हजार लिएर अर्कै मेनपावर मार्फत विदेश पठाए । तर, उनको विजोग भएपछि खड्काले साथ दिनुको सट्टा धाकधम्की दिइरहेका छन् ।
गरिव परिवार शेखसँग ऋण तिर्ने कुनै विकल्प छैन । उनलाई मेनपावरले लगानी वापतको रकम फिर्ता पाएमा मात्र ऋण तिर्न सक्नेछन् । होप मेनपावरको सम्पर्क कार्यालय खोलेर खड्काले धेरैलाई विदेश उडाइरहेका छन् । कानुनी रुपमा यहाँको कार्यलय वैधानिक पनि छैन । तर, पनि उनले कारोवार गरिरहेका छन् । स्थानीय सुरक्षा निकायले मेनपावरको अनुगमन गर्न जरुरी छ । शेख जस्तै धेरै पीडित हुन सक्छन् । गोप्य रुपमा एजेण्डको काम गरिरहेका खड्काले कानुनी प्रक्रियालाई समेत चुनौति दिँदै वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका छन् । उनले असाय र गरिव नागरिकको बाध्यतामाथि अत्याचार गरिरहेका छन् । तत्काल अनुगमन गरी पीडितको लगानी फिर्ता र पीडकलाई कारवाहीको दायरामा ल्याउन अपरिहार्य छ ।