प्रदेश प्रमुखले लिए सपथ
काठमाडौं : सोमबार नियुक्ति पाएका ७ वटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलाबार बिहान राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखले सपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवरालगायतको उपस्थिति थियो । अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखलाई आइतबार पदमुक्त गरेको सरकारले सबै प्रदेशमा सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
मन्त्रिपरिषदको सिफरिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख नियुक्त गरेकी हुन् । जसमा प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् ।
आन्दोलनका सिपाही प्रसाईं
वामपन्थी राजनीतिमा ‘टाइगर’ उपनामले परिचित झापा मेचीनगरस्थित धुलाबारी निवासी विष्णु प्रसाईंलाई स्थानीय नागरिक र कार्यकर्ताले कम्युनिस्ट आन्दोलनका सिपाही भनेर पनि चिन्छन्।
२०१० साल साउन २१ मा जन्मिएका प्रसाईं २०२७ सालदेखि राजनीतिमा लागेका हुन्। उनलाई सीपी मैनालीले जेलमै राजनीतिक शिक्षा प्रदान गरेका थिए।

२०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्ष भएका प्रसाईं पार्टीले जे निर्णय गरे पनि स्वीकार्ने बताउँछन्। उनी भन्छन्, ‘म पार्टीप्रति प्रतिबद्ध छु। पार्टी नीतिविरुद्ध जाने सोच कहिल्यै आएन, आउने छैन पनि।’ जनतालाई सेवा दिँदा हुने आत्मसन्तुष्टिले अझै लगनशील बन्न प्रेरित गरिरहेको उनको बुझाइ छ। उनी हाल नेकपाको प्रदेश कमिटी सदस्य छन्।