पूर्वी नाकामा मोदी विरुद्ध नारा
काँकडभिट्टा — भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा झापाका विद्यार्थीहरुले भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध चर्का नाराबाजी गरेका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हो ।

स्थानीय हनुमान मन्दिरबाट शुरु भएको र्याली बजार परिक्रमा गरी नेपाल–भारत जोड्ने मेची पुलमा कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मोदीसँगै ओली सरकारको विरुद्ध समेत नाराबाजी गरेका थिए । झापाका दर्जन वढी क्याम्पसका सयौ विद्यार्थी सहभागी र्याली तथा कोणसभालाई अध्यक्ष राजेन्द्र उप्रेती र प्रवक्ता सन्जय निरौलाले सम्बोधन गरेका थिए । विद्यार्थी नेताहरुले नेपाली भुभाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।