‘विन लादेन’ हात्ती नियन्त्रणमा
भारत – ओसामा विन लादेन नामको एक हात्तीलाई वन्यजन्तु अधिकारीले लामो प्रयासपछि भारतको असामबाट नियन्त्रणमा लिएका छन् ।

भारत, कात्तिक २६ ओसामा विन लादेन नामको एक हात्तीलाई वन्यजन्तु अधिकारीले लामो प्रयासपछि भारतको असामबाट नियन्त्रणमा लिएका छन्। वन्यजन्तु अधिकारीहरुले धेरै दिनको प्रयासपछि लादेनलाई ड्रोन र घरेलु हात्तीको सहायतामा उत्तरपूर्वीय असाममा ट्रयाक गरेका हुन्। लादेनलाई उनीहरुले यसअघि रोङ्जुली जङ्गलमा ट्रयाक गरेका थिए।
गत अक्टोबर महिनामा हिंस्रक हात्तीको आक्रमणबाट गोलपारा जिल्लामा तीन महिलासहित पाँच जनाको मृत्यु भएको थियो। मान्छे मार्ने उक्त हात्तीलाई नै आतङ्ककारी सङ्गठन अल्कायदाका नेता स्व.ओसामा विन लादेनको नाम दिइएको हो ।
एक अधिकारीका अनुसार अब ट्रयाकमा रहेको लादेनको हेरचाहमा ध्यान दिइनेछ। स्थानीय वासिन्दाको सुरक्षामा ध्यान दिँदै हात्तीको स्थान परिवर्तन बारे निर्णय लिनेछन्।
‘हामीले आज अपरेशनको अन्तिम चरण सुरु गर्यौँ। विशेषज्ञहरुले दुई वटा डार्ट हानेका थिए जसले भाले हात्तिलाई शान्त बनाएको थियो,’ एक वरिष्ठ वन अधिकारीले भनेका छन्। उनले अहिले हात्तीलाई मानव वस्ती नजिक नभएको जङ्गलमा सार्ने काम भइरहेको बताए।
असामका वनमन्त्री परिमल शुक्ला बैद्यले वन्यजन्तु विशेषज्ञ सहितको आठ सदस्यीय कमिटीले यसबारे निर्णय लिने बताएका छन्।