‘द भ्वाइस अफ नेपाल’ मा बलबहादुरलाई सहयोगको अपिल
बिर्तामोड । झापाका बलबहादुर राजवंशीलाई ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनाउन कोच समुदायले आव्हान गरेको छ । समुदायको तर्फबाट कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी झापाबासीको पहिचानको लागि बलबहादुरलाई ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को विजेता बनाउन अपिल गरेको हो ।

झापा गौरादह नगरपालिका निवासी बलबहादुर ‘द भ्वाइस अफ नेपाल’ को टप १२ मा छनोट भएका छन् । ‘द भ्वाइस अफ नेपाल’ सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुने गरेको छ । ‘द भ्वाइस अफ नेपाल’ मा गत शुक्रबारदेखि भोटिङ राउण्ड सुरु भएकाले बलबहादुर राजवंशीलाई भोट गरेर अगाडि बढ्न सहयोग गरिदिन कोचिला गाभुर फ्रन्टले सबैमा आग्रह गरेको छ ।
कार्यक्रममा बलबहाद्ुर झापाली चर्चिक निर्णायक तथा कोच प्रमोद खरेलको टिममा परेका छन् । उनले गायन यात्रा शुरु गरेको एक दशक भइसकेको छ ।
राजवंशीले वेदना ४ एल्बम पनि निकालिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले झापामा २२ वटा उपसमिति गठन गरी आफ्नो संस्थाको तर्फबाट प्रचारप्रसार तथा भोट गर्ने कार्य जारी राखेको बताए । उनले बलबहादुरलाई अगाडि बढाउन राजवंशी र कोच समुदायसंगै अन्य सबैको साथसहयोग आवश्यक रहेकाले सार्वजनिक अपिल गरेको उनले बताए । भ्वाइस अफ नेपाल सिजन–२ हिमालयन टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार प्रशारण हुने कार्यक्रम हो ।
बलबहादुरलाई मोबाइलबाट भोट गर्दा उनको कोड नम्बर ०३ टाइप गरी ३७००० मा सेन्ट गर्नुपर्नेछ । बलबहादुर उत्कृष्ट गायक भएकाले सम्पूर्ण झापाली तथा देशविदेशमा बसोबास गर्ने संगीत प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नेमा आफूहरु आशावादी रहेको फ्रन्टका सचिव हंशनारायण राजवंशीले बताए ।