प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढ्यो
काठमाडौं –प्याज निकासीमा भारतीय प्रतिबन्धको असर नेपाली बजारमा देखिन्न थालेको छ। असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो।

तर, झन्डै ४५ दिनपछि प्याजको मूल्य थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ६० रपैयाँ पुगेको छ। थोक बजारमा १ सय ६० रपैयाँमा कारोबार भएको प्याजको खुद्रा मूल्य भने प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ।
थोक बजारमा बुधबार प्रतिकेजी अधिकतम १ सय ४५ रुपैयाँ रहेको प्याजको मूल्य शुक्रबारसम्म आइपुग्दा १ सय ६० रुपैयाँ पुगेको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतिकेजी १० रुपैयाँले बढेको हो। विहिबार प्याज थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढ्को थिएन।
दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजरमा एक सय रुपैयाँ र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘नेपाली बजारमा खपत हुने प्याजको बढी हिसा भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, माग अनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिएको छ,’ पौडेलले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि स्टक रहेको प्याज र चीनबाट भएको आयातका कारण पनि प्याजको मूल्य केही समय स्थिर जस्तै बसको व्यापारीहरुको भनाइ छ। अहिले बजारमा प्याजको माग बढेपनि निर्यात भने अति नै कम भएको छ।
जसका कारण प्याजको मूल्य बढन थालेको कालीमाटी तरकारी बजार विकास समितिको भनाइ छ।तर, पछिल्लो साता भने प्याजको मूल्यमा प्रतिदिन ५ रुपैयाँको हाराहारीमा मूल्य बढिरहेको छ।