‘इटहरीले अन्तराष्ट्रसम्म खेल्ने महिला खेलाडी उत्पादन गर्नेछ’
इटहरी । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई बल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिन् ।

महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका ४० जना छात्राको सहभागिता छ । उनीहरुलाई दुई चरणमा गरि एक महिना प्रशिक्षण दिइने छ । सहभागी छात्राका लागि जर्सि र जुत्ताको उपमहानगरले ब्यवस्था गरिएकोे छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख गौतमले इटहरी उपमहानगरले खेल क्षेत्रमा नयाँ आयाम थप्न लागेको बताइन् ।
तालिम प्राप्त जनशक्तिवाट इटहरी उपमहानगरको महिला फुटवल टिम बनाउने उनले जानकारी दिइन् । देशमा मात्र होइन अन्तराष्ट्रसम्म पनि खेल्ने खेलाडी उत्पादन गरिनेमा जोड दिइन् । खेल क्षेत्रबाटै भविश्य र पहिचान बनाउन उनले सहभागीहरुलाई शुभकामना दिएकी छन् । हरेक क्षेत्रमा महिला अब्बल हुनुपर्ने उपमेयर गौतमको सुझाव छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको छ ।