बिर्तामोड खानेपानीको निर्वाचन गर्न सर्वदलीय सहमति जुट्यो
सिपि कडरिया संयोजक
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि सर्वदलीय सहमति जुटेको छ । शनिवार बिर्तामोडमा भएको सर्वदलीय बैठकले अनिश्चित बनेको निर्वाचनका लागि बाटो खुल्ला गरेको हो ।
सो सर्वदलीय बैठकले दुई समिति बनाएको छ । सँगै निर्वाचन समिति पनि पुर्नगठन गरिएको स्रोतले जानकारी दिएको छ । निर्वाचन सम्पन्न हुन्जेल काम गर्नका लागि खानेपानीका सल्लाहकार सदस्य सिपि कडरियाको संयोजकत्वमा सर्वदलीय कार्यसम्पादन समिति बनेको छ । ७ सदस्यीय समितिको उपसंयोजकमा भोजराज सिटौला रहेका छन् । यस्तै, पुर्नगठित निर्वाचन समितिको संयोजकमा टंक उप्रेती रहेका छन् । यसअघिको समितिमा पनि उनै संयोजक थिए । सोहि समितिमा सदस्य थप गरिएको छ । बैठकमा नेकपा, नेपाली कांग्रेस,राप्रपा,राजपा र समाजवादी पार्टीका नेता सहभागी थिए ।
यस्तै, सर्वदलीय बैठकले पाँच सदस्यीय सल्लाहाकार समिति बनाएको छ । सो समितिमा संविधासभा सदस्य नरेश खरेल, सुधिर शिवाकोटी, प्रदेश १ का सांसद झलक सिंह दर्लामी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा र राप्रपाका नेता कमल खरेल छन् ।
आज (आइतवार) सर्वदलीय कार्यसम्पादन समिति र निर्वाचन समितिबिच बैठक बसेर निर्वाचनको मिति टुङ्गो लगाउने तयारी गरिएको छ । मंसिर २५ गते निर्वाचनको लागि मिति तयार गरिए पनि औपचारिक निर्णय भने भएको छैन ।
यसअघि नै निर्वाचनको तयारी गरेपछि उपभोक्ताले जिल्ला प्रशासन कार्यालय झापामा वैधानिकताको प्रश्न उठाउदै उजुरी गरेका थिए । जल कुमार गुरुङ अध्यक्ष रहेको कार्यसमितिको कार्यकाल गत साउन ४ गते सकिएको थियो । विधानले ३ वर्षभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरे पनि उनीहरुले समयमा निर्वाचन गर्न सकेका थिएनन् । त्यसपछि विधानले ६ महिना थप गर्ने व्यवस्था समेत गरेको छ । ६ महिनामा पनि निर्वाचन नभएपछि सो कार्यसमिति स्वतः अवैध भएको जानकार बताउँछन् ।
कार्यसमिति अवैधानिक भएपछि शुरु भएको निर्वाचन प्रक्रिया रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला जलस्रोत समितिले विधानतः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएका थिए । वैधानिक रुपमा निर्वाचन गर्न उच्च स्तरीय सर्वदलीय बैठकले बाटो खुल्ला गरिदिएको छ ।