अब काङ्ग्रेसलाई बत्ति बालेर खोज्नुपर्छ : प्रचण्ड
धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे काङ्ग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् ।

धरानको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले गरेको चुनावीसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काङ्ग्रेस इतिहासको वस्तु भनेर चित्रण गर्ने अवस्था सिर्जना नर्गन भन्दै कटाक्ष गरे । उनले काङ्ग्रेसलाई गतिलै प्रतिपक्षीको रूपमा आफूहरूले चाहेकाले कम्युनिष्टविरुद्ध नलाग्न आग्रह गरे । ‘भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, काँधै थाप्न सकिन्न, त्यसतर्फ काङ्ग्रेसका साथीहरू सचेत हुनुहोला’–उनले भने ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग रहेकाले नेपालको एक इञ्च जमिन पनि हड्पेको सहन नसक्ने बताए । ‘लिम्पियाधुरा नै नेपालको सिमाना हो, नेपालको एक इञ्च जमिन हडपेको सहन सक्दैनौं, अर्काको एक इञ्च जमिन चाहिँदैन’–उनले भने । चुनावी अभियानका क्रममा उनले प्रकाश राईलाई अत्यधिक मतले जिताउन आग्रह गरे । उनले केन्द्रबाट धरानका लागि सहयोग गर्न तयार रहेको बताए ।