स्थानीय उत्पादन आएपछि मात्रै प्याजको मुल्य घट्ने
बिर्तामोड । भान्सामा दैनिक उपभोग हुने प्याजको मुल्य माघ महिनाको पहिलो हप्ताबाट मात्र घट्ने भएको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएअनुसार प्याजको मुल्य मंसिर र पुष महिनाभर स्थिर रहनेछ । स्थानीय उत्पादन बजारमा आएपछि मात्र मुल्य घट्ने तथ्याङ शाखाको कर्मचारी माया राजवंशीले जानकारी दिइन् ।
निरन्तर बृद्धि भइरहेको प्याजको मुल्यका कारण आयात पनि घटिरहेको बताइएको छ । कृषि बजारको तथ्याङक अनुसार ३/४ दिनको अन्तरमा ३०/३५ टन आउथ्यो, अहिले २० टन आइरहेको छ । सोहि कार्यालयले उपलब्ध गराएको थोक तथा खुद्रा मुल्यमा बिहीवार थोकमा न्यूनतम १५० देखि १५३ रुपैंयाँ प्रतिकेजी खरिद विक्री भएको छ ।
यस्तै, खुद्रामा प्रतिकेजी २ सय रुपैंयाँमा खरिद विक्री भएको राजवंशीको भनाई छ । कार्यालयको दरभन्दा बजारमा भने फरक–फरक मुल्यमा प्याजको विक्री वितरण भइरहेको पाइएको छ । बजारमा प्रतिकेजी २ सय ६० रुपैंयासम्म प्याजको विक्री भइरहेको सर्वसाधारणको भनाई छ । व्यवसायीले ढुवानी र अन्य खर्च जोडेर हदैसम्मको मुल्य लिइरहेका छन् ।
माघदेखि स्थानीय उत्पादन शुरु हुन्छ, राजवंशीले भनिन् – गतवर्ष यहि सिजनमा प्याज प्रतिकेजी ५०/६० रुपैंयाँमा खरिद विक्री भएको थियो । भारतको आन्द्र प्रदेशस्थित नासिकबाट आयात हुने प्याजको अभावका कारण मुल्य बढेको हो ।
नेपाल , भारत र बंगलादेशमा प्याजको मुल्य आशिएको समाचार संस्थाहरुले जनाइरहेका छन् । भारतमा अहिले १ सय रुपैंया (भारु) मा प्याजको खरिद विक्री चलिरहेको छ ।