बिर्तामोड खानेपानीको निर्वाचनमा प्रगतिशील प्यानलको उम्मेद्वार घोषणा
अवैधानिक कार्यसमितिका व्यक्ति फेरि निर्वाचनमा आउने कुरा हास्यास्पद
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत आज ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो ।

प्रगतिशील प्यानलको उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जन बहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमल पौडेल सार्वजनिक गरिएको छ । यस्तै सदस्यहरुमा पुरुष तर्फ शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, महिला सदस्यमा सिता सापकोटा र हिमादेवी प्रसाई उम्मेद्वार बनेका छन् । उनीहरुको नाम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । थप एक जना महिला सदस्य आजै टुङ्गो लगाइने प्रचार समितिका संयोजक युवराज दाहालले जानकारी दिए ।
प्रगतिशील प्यानलले बिर्तामोडबासीलाई सुरक्षित पानीको पहुँचमा पु¥याउने बताएका छन् । २५ वर्षदेखि एउटै नेतृत्व रहेको बिर्तामोड खानेपानीमा उपभोक्ताले यस पटक नयाँ नेतृत्व खोजेको बताइएको छ । यसअघि जल कुमार गुरुङ अध्यक्ष रहेको समितिले सामान्य निर्वाचन गर्ने समय समेत हेक्का नराखेर अवैधानिक भएको समितिका संयोजक दाहालले जानकारी दिए ।
अवैधानिक भएको कार्यसमितिका व्यक्ति फेरि निर्वाचनमा आउने कुरा हास्यास्पद भएको भनिएको छ । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेद्वार प्रसाईले वैकल्पिक उर्जाको प्रयोगबाट बिर्तामोडमा पानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने उद्घोष गरेका छन् ।