बिर्तासिटी अस्पतालमा तनाव, प्रहरीको कडा सुरक्षा
बिर्तामोड । उपचारको क्रममा एक महिलाको मृत्यू भएपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा तनाव भएको छ । अस्पतालमा क्षति हुन नदिन प्रहरीले कडा सुरक्षा दिएको छ ।

कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यू भएको थियो । मृगौलामा समस्या भएर उपचारमा आएकी तामाङको इन्डोस्कपी गर्ने क्रममा मृत्यू भएको पीडित पक्षले दावी गरिरहेका छन् । विरामी तामाङ डराइरहेको अवस्थामा जवरजस्ती इन्डोस्कपी गर्दा मृत्यू भएको भन्दै पीडित पक्षले अस्पतालमा नारावाजी गरेका छन् । उनीहरुले अस्पतालको लापरबाही भएको दावी गरेका छन् ।

बिर्तासिटीमा अहिले प्रहरीको बाक्लो परिचालन गरिएको छ भने पीडित पक्षको पनि भीड बढीरहेको छ । अस्पतालमा संभावित घटना हुन नदिन सतर्कता अपनाइएको प्रहरीको भनाई छ । घटनाका सन्दर्भमा पीडित पक्ष, अस्पताल प्रशासन र सरोकार पक्षका विच छलफल चलिरहेको छ ।