सम्पादकीय : जाडो छलिदेऊ
जाडोयाम शुरु भएको छ । जाडोबाट सुरक्षित हुन सक्नेले कपडाको जोहो गरिसके । नसक्नेहरु जाडोबाट पीडित हुन बाध्य छन् । बिहान बेलुका जाडो बढिसक्यो । अब केहि दिनमै जाडोले मानव जीवन कष्टकर हुनेछ । मध्य तराई भेगमा जाडोका कारण सयौं परिवार प्रभावित भइसकेका छन् । यसको प्रभाव अब देशभर बढ्नेछ । यहाँ सबै वर्गका नागरिकको बसोवास छ । सबैले जाडोबाट सुरक्षित बन्न सक्दैनन् । उनीहरु मौसमको असर सहन बाध्य हुन्छन् । तर, समय हिजोको जस्तो अहिले छैन । किनभने हामीसँग आज स्थानीय सरकारको नेतृत्व छ । स्थानीय सरकारले गरिव विपन्नका लागि न्यायो बनाउने काम गर्नैपर्छ ।

स्थानीय सरकारले जाडोबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गर्ने समय आएको छ । हरेक वडामा स्थानीय सरकारले त्यस्ता नागरिकको पहिचान गरेर सकेसम्म कसैलाई पनि प्रभावित हुन दिन हुदैन । त्यसको लागि आवश्यक खर्च जुटाउने दायित्व स्थानीय सरकारकै हो । सरकारले विपद्का लागि पनि कोषको पक्कै व्यवस्थापन गरेको छ । अब यहि बेला काम नगर्ने हो भने स्थानीय सरकारको नेतृत्वको तुक रहँदैन । आम नागरिक सरकारको छायाँमा छन् । सबैलाई सुरक्षाको आवश्यकता छ । यसैले बेलैमा सचेत हुनुपर्छ ।
यो वर्ष जाडोले कठाङ्ग्रिएर मरेको समाचार बनाउनु नपरोस् । त्यसका लागि बेलै स्थानीय सरकारले सामाजिक संघसंस्थासँग पनि समन्वय गर्न जरुरी छ । आवश्यकताका आधारमा न्यानो प्रदान गर्न सक्ने अवस्था छ । त्यसका लागि तदारुकता उत्तिकै आवश्यक छ । विभिन्न संघसंस्थाहरु सामाजिक कामका लागेका छन् । सामाजिक काममा लाग्नेहरुले आवश्यकता पनि अहिले आएको छ । जाडो छलिदिने जिम्मेवारी सामाजिक व्यक्तित्व एवम् सामाजिक क्षेत्रकै हो । बिर्तामोड क्षेत्रमा बसोवास गर्ने मुसहर परिवारलाई आवश्यक कपडा वितरण गरिएको छ । त्यसै गरी जिल्लाभर योगदान गर्न सकिन्छ । सबैको एकता हुने हो भने यो संभावना छ ।