बिर्तामोड खानेपानीमा प्रसाईको पल्ला भारी
बिर्तामोड । बिर्तामोड खानेपानीको बुधबार (मंसिर २५) हुने निर्वाचनलाई प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आआफ्नो दलीय प्रतिष्ठासँग जोडेर हेरेका छन् ।
कांग्रेसले खानेपानीमा २५ वर्षदेखिको आफ्नो वर्चश्व जोगाउने रणनीति सहित जलकुमार गुरुङलाई नै अघि सारेको छ भने नेकपा प्रभावशाली युवा नेता ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल बनाएर खानेपानीबाट कांग्रेसको वर्चश्व खोस्ने दाउमा छ ।
अघिल्लो पटक अध्यक्षका प्रत्यासी बनेका प्रसाईले खानेपानीमा राजनीति गर्न नहुने मान्यताका साथ जलकुमार गुरुङलाई अध्यक्षमा निर्विरोध बनाएका थिए । यस पटक पनि खानेपानीमा सर्वपक्षीय सहमतिका आधारमा नेतृत्व चयन गर्न गरेको प्रस्तावलाई अस्वीकार गर्दै गुरुङले लोकतान्त्रिक प्यानलबाट चुनाव लड्ने घोषणा गरेपछि प्रसाई पनि प्रतिष्पर्धामा उत्रिएका छन् ।
यस पटक खानेपानीको निर्वाचन मत परिणाम सोचेभन्दा भिन्न रुपमा आउने मतदाताहरु बताउँछन् । ‘खानेपानीमा २५ वर्षसम्म निरन्तर नेतृत्व गरेको कांग्रेसको विकल्प खोज्न थालेका मतदाताले यस पटक ब्यालेटमा आफ्नो स्वविवेक प्रयोग गर्ने छन् । एक मतदाताले भने,– राजनीतिक आस्थाभन्दा पनि यस पटक योग्य उम्मेद्वारलाई मतदान गरिन्छ ।’ उनले यस पटक खानेपानीको अध्यक्षमा ज्ञानुराम प्रसाईको पल्ला भारी हुने दावी गरे । म कुनै राजनीतिक दलसँग आवद्ध छैन , उनले भने – खानेपानीको नेतृत्वमा प्रसाईको आवश्यकता खड्किएको महसुस गरेर हामी उनको पक्षमा उभिएका छौं ।
स्वतन्त्र साथै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिले समेत यस पटक खानेपानीमा ज्ञानुराम प्रसाई नेतृत्वको प्रगतिशील प्यानललाई जिताउन सार्वजनिक अपिल गरेका छन् । जिल्लाका शिक्षासेवी, सामाजिक अभियान्ता, अधिकारकर्मी, बौद्धिक वर्ग लगायतले प्रगतिशील प्यानललाई जिताउन आव्हान गरेका हुन् । मंगलवार विभिन्न २२ वटा संघसंस्थाले पानीको गुणस्तर बृद्धि, खानेपानीको सर्वाङ्गिण विकास र सहज पहुँचका लागि प्रगतिशील प्यानललाई जिताउन सामुहिक अपिल गरेका छन् ।
नेकपा विर्तामोड नगर कमिटीका अध्यक्ष समेत रहेका प्रसाईले विभिन्न सामाजिक क्षेत्रमा गरेको कामको मुल्याङ्कनका आधारमा पनि खानेपानीमा उनको नेतृत्व आवश्यक रहेको गैर सरकारी संस्था महासंघ झापाका पूर्व अध्यक्ष रुद्र सिटौला बताउँछन् । ‘२५ वर्षदेखि खानेपानीमा एउटै नेतृत्व छ, उनले भने – खानेपानीको विकास र स्तरोन्नतिका लागि नेतृत्व परिवर्तन आवश्यक छ ।
बिर्तामोड खानेपानीमा भएका वेथिती सार्वजनिक हुने डरले अघिल्लो कार्यसमिति पुनः नेतृत्व लिने कसरतमा लागेको चर्चा चुलिएको छ । खानेपानी अस्तव्यस्त रुपमा चलेको बताउँदै अध्यक्षका प्रत्यासी प्रसाईले भने, ‘खानेपानीमा राजनीतिकरण नगर्ने उद्घोषका साथ ४ वर्षअघि पार्टीले मलाई अध्यक्षको उम्मेद्वार बनाए पनि मैले जेकेजीलाई निर्विरोध रुपमा छोडे । तर, यस पटक पनि पुनःअध्यक्ष दोहो¥याउनुका पछाडि के कारण छ भन्ने बुझ्न सकिएन । प्रसाईले यस पटक आफुले चुनाव जित्ने प्रशस्त आधारहरु रहेको बताउँदै अर्को पटक चुनाव नलड्ने घोषणा गरे । मेरो नेतृत्वको टिमले जेजे काम गर्ने हो, यहि कार्यकालमा गर्छ, बाँकी रहेका काम सिस्टम बसालेर नयाँ समितिलाई सुम्पिनेछौं ।’
अध्यक्षका उम्मेद्वार प्रसाईले खानेपानीमा कांग्रेसले राजनीति गरेको दावी गरे । उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले निर्विरोध रुपमा छोड्यौ, यस पटक सहमतिका आधारमा नेतृत्व गरौं भन्दा कांग्रेस नमानेपछि हामीले पनि चुनावी प्रतिष्पर्धामा जानुको विकल्प रहेन ।’ आफुहरुले खानेपानीमा राजनीतिक आस्था र सिद्धान्तका आधारमा कुनै काम नगर्ने घोषणा गर्दै उनले भने – संविधानले व्यवस्था गरेको खानेपानीको मौलिक अधिकार बिर्तामोड नगरवासीले पाएका छैनन् । असाह्य र निमुखाले खानेपानीमा आफ्नो पहुँच पु¥याउन सकेका छैनन्, हाम्रो प्यानल ति काम गर्नका लागि सक्षम छ । बिर्तामोड खानेपानीको मुहार फेर्न प्रगतिशील प्यानलको जित आवश्यक रहेको उनले बताए ।
खानेपानीको विगतको नेतृत्वप्रति कटाक्ष गर्दै प्रसाईले भने , लामो समयदेखि खानेपानीमा कार्यलय प्रमुख छैनन् । कार्यसमितिले कर्मचारी व्यवस्थापन गर्न नसक्दा खानेपानी अस्तव्यस्त भएको उनको भनाई छ । खानेपानीलाई चुनावी मत परिणामका आधारमा मात्र हेरियो, जस्ले गर्दा खानेपानीमा स्रोत साधनको पहुँच पुग्न सकेन । मुलुक संघीयतामा गइसकेपछि बनेका तिन तहकै सरकारसँग सहकार्य गर्न नसक्दा खानेपानीको स्तरोन्नति हुन नसको प्रसाईको भनाई छ । मंगलवार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रसाईले आफ्नो प्यानलले चुनाव जिते लगत्तै कार्यलय प्रमुख व्यवस्था गर्ने, वितरण व्यवस्थापनमा आधुनिक प्रविधिको व्यवस्था गर्ने, आगलागी जस्ता आकस्मिक दुर्घटना न्यूनिकरणका लागि शहरका मुख्य स्थानहरुमा फायर हाइड्रेन्ट पोइन्टको व्यवस्था गर्ने, पानीको उत्पादन र वितरणमा वैकल्पि उर्जाको प्रयोग , चुवाहट नियन्त्रण, वैकल्पिक आय स्रोतको व्यवस्था र फजुल खर्च कटौती गरी खानेपानीको महसुल र जडान खर्चमा २५ प्रतिशत घटाइने लगायतका जनहितकारी योजना अघि सारेका छन् ।
अध्यक्षका प्रत्यासी जल कुमार गुरुङ र ज्ञानुराम प्रसाई विच यस पटक कडा प्रतिष्पर्धा हुने देखिएको छ । सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल अध्यक्षका दुवै प्रतिष्पर्धी विचको टक्कर रोचक हुने आम अनुमान छ । गुरुङ आफुले खानेपानीमा अहिलेसम्म गरेको योगदानका आधार चुनाव जित्ने दाउमा छन् । प्रसाई आफुले जिम्मेवारी लिएका देवि मावि लगायत विभिन्न सामाजिक संघ संस्थाको काममा आफुले गरेको योगदानका आधारमा खानेपानीको चुनाव जित्ने विश्वासमा छन् । लामो समय खानेपानीको नेतृत्व गरेका कारण संख्यात्मक हिसावले कांग्रेस अगाडि देखिए पनि यस पटकको निर्वाचन दलगत रुपमा नहुने देखिएको छ ।
कांग्रेसका जिल्लादेखि केन्द्रीय तहसम्मका नेता खानेपानीमा २५ वर्षदेखिको आफ्नो साख बचाउन लागि परेका छन् । यद्धपि प्रसाईको पल्ला भारी हुने आकलन गरिएको छ । प्रसाईले राजनीतिसँगै सामाजिक क्षेत्रमा स्वार्थ र दलीय आस्था विना गरेको कामकै आधारमा पल्ला भारी हुने विष्लेषण गरिएको छ ।