रेलवे आयोजनामा मुआब्जाको कचकच
बिर्तामोड । रेलवे लिंक आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा झापाका सरोकारवालाहरुले जग्गाधनीलाई उचित मुआब्जा दिन माग गरेका छन् । सो कार्यक्रमको आयोजना मुआब्जा दिने निकायले गरेको थिएन । रेलवे आयोजनाले वातावरणमा पर्ने संभावित असरका बारेमा नागरिकको धारणा बुझ्न सार्वजनिक सुनुवाई गरिएको थियो ।

बुधबार बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा रेलवे विस्तारको कार्यक्रम र वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक गरिएको थियो । सार्वजनिक सुनुवाईमा वातारण विद् रिकेश चित्रकारले असरका बारेमा सहजीकरण गरेका थिए । उनले आफ्नो प्रस्तुति राखेपछि सरोकारवालाले कार्यक्रममा धारणा राख्दै रेलवे आयोजना निर्माण मै शंका व्यक्त गरेका थिए । अधिकांशले सो आयोजनाका क्रममा अधिग्रहण गरिने जग्गाको उचित मुआब्जा बारे कुरा राखेका थिए । यसअघिका धेरै आयोजना निर्माण हुँदा सरकारले अहिलेसम्म मुआब्जा नदिएको भन्दै यो काम अघि बढाउनुभन्दा पहिले क्षतिपूर्ति र मुआब्जाको ग्यारेन्टी गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सुनुवाईमा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र शेर्माले उचित मापदण्ड बनाएर मुआब्जा दिनुपर्ने धारणा राखेका थिए । उनले क्षतिपूर्तिको मापदण्ड नभए समस्या हुन सक्ने बताए । यस्तै बिर्तामोडका मेयर ध्रुव शिवाकोटीले विकासको नाममा कसैलाई घरबाहर बिहीन बनाउन नहुने बताउँदै जग्गाको मुल्याङकनका आधारमा क्षतिपूर्ति र मुआब्जा दिन आग्रह गरे । मेचीनगरकी उपप्रमुख मिना उप्रेतीले रेलवे स्टेशन राखिने मेचीनगरमा फोहोरमैला व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । उनले नागरिकमा मुआब्जाका कारण कुनै समस्या आउन नदिन सूझाव दिएकी छन् ।
बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले कोशीका नागरिकले अझै मुआब्जा नपाएको स्मरण गराउँदै यहाँ पनि त्यस्तो हुन नदिन सचेत गराएका छन् । उनले पुरा क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने बताए । यस्तै नेपाली कांग्रेसका लक्ष्मी आचार्यले वैज्ञानिक आधारमा जमिनको मुल्याङकन गरिनुपर्ने बताएका छन् । उनले विकासमा नागरिकको उत्साहजनक सहभागीता हुने गरी काम गर्न सूझाव दिएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अरुण श्रेष्ठले रेलवे निर्माण गौरवको विषय भएको बताए । उनले यसको सफलतामा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । श्रेष्ठले एउटा रुख कटान भएमा २५ वटा विरुवा कहाँ रोप्ने भन्दै जिज्ञासा राखेका थिए ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले रेलवे निर्माणबारे कसैले आशंका व्यक्त गर्नु नपर्ने बताएका छन् । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबैको हातेमालो अनिवार्य रहेको बताए । प्रमुख पोर्तेलले सार्वजिनक सुनुवाई मुआब्जा र क्षतिपूर्ति दिने निकायले नगरेको जानकारी गराएका थिए ।
आयोजना निर्माणमा आशंका व्यक्त गर्नेहरुलाई जवाफ दिंदै उनले विगतको जस्तो राज्यसत्ता नरहेकोले निर्माण हुनेमा ढुक्क रहन आग्रह समेत गरेका छन् । वातावरणमा पर्ने असर कसरी कम गराउने भन्ने बारे सोचिदिन उनको आग्रह थियो । आयोजान सफल बनाउन सबैले सकारात्मक बन्नुपर्ने पोर्तेलको भनाई थियो ।
मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काँकरभिट्टा खण्ड र इटहरी–विराटनगर रेलवे लिंकको निर्माण तयारी भएइरहेको बेला संबद्ध पक्षले सरोकारवालासँग छलफल गर्दै आएको छ । सो आयोजना झापाको ६ वटा स्थानीय तहमा सञ्चालन हुने छ । रेल दमक, कमल गाउँपालिका, शिवसताक्षी, कनकाई, बिर्तामोड हुँदै मेचीनगर जानेछ । मेची –महाकाली रेललाई सरकारले गौरवको आयोजनाका रुपमा लिएको छ । सो आयोजना निर्माणमा ९० अर्व लागत अनुमान गरिएको छ ।