नारायणी नदीमा ‘मिनी’ पानीजहाजको सफल परीक्षण
काठमाडौं । आफ्नै देशको नदीमा पानीजहाज चलेको देख्ने नेपाली नागरिकको चाहना अन्ततः पूरा भएको छ । नारायण नदीमा २२० यात्रु क्षमता साढे दुई तले ‘मिनी’ पानीजहाजको सफल परीक्षण भएको छ ।

आइतबार बेलुका २५ जना यात्रुसहित ‘मिनी’ पानीजहाजको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिएका छन् ।
पानीजहाज (सिप) लाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो ।
परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले जानकारी दिएका छन् । अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ । क्रुज सिपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताएका छन् ।
‘ठ्याक्कै यति समयमा सिप तयार हुन्छ भनेर भन्न सकेका छेनौं तर सक्दो चाँडो उद्घाटन गर्ने उद्देश्यका साथ काम भइरहेको छ,’ उनले सुनाए । गत चैतबाट निर्माण शुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो ।
तर, साना–साना प्राविधिक कामले गर्दा ढिला हुन गएको कँडेलले बताएका छन् । अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ । १५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ । जसमा क्रुजका २० जना कर्मचारीसहित २२० यात्रु सयर गर्न मिल्ने जनाइएको छ ।
क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ । यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्ने बताइएको छ । क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ । क्रुजमा डबल इन्जिन हुनेछ ।