झापाको शिवगञ्जमा छुरा प्रहार गरी श्रीमतिको हत्या
भद्रपुर : छुरा प्रहार गरी झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेको छ। झापाको शिवसताक्षी नगरपालिका ६ बस्ने अन्दाजी ३२ वर्षीय शंकर मुर्मुले २८ वर्षीया तारामई हेमरमको हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शिवसताक्षी ६ बस्ने टीकाराम सिटौलाको धान काँटामा काम गर्ने मुर्मुले घरायसी वादविवादपश्चात् श्रीमतीलाई बिहीबार साँझ ७ बजे छुरा प्रहार गरेका थिए। श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रीमतीलाई तत्काल उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।
यता इलाका प्रहरी कार्यालय झिलझिले र शिवगञ्जबाट खटिएका प्रहरी टोलीले श्रीमान् मुर्मुलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।