बैशाख १३, २०८२ शनिबार

मासु र अण्डाको मूल्य बढ्यो

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल ह्याचरी संघबीचको छलफल निष्कर्षविहीन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ह्याचरी उद्योग संघको आन्दोलनको कारण ब्रोइलर कुखुरा तथा अण्डाको मूल्य एक रुपैयाँ पनि वृद्धि भए तत्काल कारबाही गर्ने बताएको थियो ।

यसै विषयमा वाणिज्य विभागले आइतबार दुई बजेदेखि संघलाई छलफमा बोलाएको भए पनि निष्कर्ष निस्किएन ।

यसै विषयमा बाह्रखरीसँग कुरा गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, “ह्याचरी संघको बद्मासी नै प्रष्ट भए, जरिवानादेखि अनुमति प्रकृया खारेजी सम्मको कारबाही हुन्छ ।” तर झट्ट कारबाही गर्ने अवस्था देखिएन ।

छलफलमा किसान र उपभोक्ताकर्मी समेत सामेल भएकाले आज सम्मको प्रमाणले कारबाही गर्ने स्थिति नदेखिएको हो । किसान मर्कामा छ कि छैन, लागत मूल्य कति हो त्यसको बारेमा सहजीकरण गर्नुपर्ने देखियो । मूल्य प्रणालीमा असर पर्ने काम गर्नु भएन ।

ह्याचरी संघले चल्ला नष्टै गरेको भए पनि त्यसको असर ४५ दिनमा देखिने भएकाले मूल्य बढ्नुको कारण आन्दोलन होइन भन्ने हुन्छ । घटना हुनु र मूल्य बढ्नुमा संयोजन मात्र देखियो । तर, लिखित रूपमा जवाफ आउँन बाँकी छ,” उनले भने ।

लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले गत मंसिर २९ बाट आठ गते सम्म १० दिन ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको थियो । जस अनुसार चितवनमा किचेन होली डे घोषणा गरिएको थियो । 

ह्याचरी उद्योगीहरूले १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला निकालेनन् । चल्ला निकाल्न ह्याचरी मेसिनमा राखिएका अण्डासमेत नष्ट गरे । ५० साताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णयसहित १० दिन गरिएको आन्दोलनले ब्रोइलर कुखुराको मासु र अण्डाको मूल्य ह्वात्तै वृद्धि भयो । 

ह्याचरी उद्योगसंघको आन्दोलन पश्चात् प्रतिक्रेट अण्डा सात रुपैयाँ १४ पैसा (प्रतिबाक्सा ५० रुपैयाँ) र जिउँदो ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३० रुपैयाँ र तयारी मासु प्रतिकिलो ४० रुपैयाँ वृद्धि भएको छ । 

किचेन होली डे पश्चात् मासु तथा अण्डाको मूल्य वृद्धि भए पनि किसान भने घाटामा नै रहेको र लागत मूल्य नपाएको बताइएको छ  । 

किसानले जिउँदो कुखुरामा प्रतिकिलो १ सय ९० रुपैयाँ पाएका छन् । त्यसमा पनि बाटामा मर्ने, घट्ने भएकाले किसानको हातमा १ सय ८० रुपैयाँमा पर्ने देखिन्छ । हाल काठमाडौका किसानको लागत भने प्रतिकिलो २ सय २५ रुपैयाँ रहेको देखिन्छ, जसले गर्दा किसान अझै प्रतिकिलो ३५ रुपैयाँ घाटामा छन् । ह्याचरी उद्योग संघले चल्ला नष्ट गरेको कारण अबको ३५–४० दिनपछि भने बजारमा त्यसको असर देखिने पक्का छ  ।

मन्त्रालय भन्छ : यो विषयमा कुनै धारण बनाएको छैन 


 यसैबीच मन्त्रालयसँग कुरा गर्दा, कृषि मन्त्रालयका एक अधिकारीले पशुपन्छीको छुट्टै विभाग हुने भएकाले यस विषयमा मन्त्रालयले कुनै धारणा नबनाएको बताए । एक्सन कसले गर्ने भन्ने कुरा हो । यो व्यापारीहरूको आफ्नो निर्णय भएकाले व्यापारलाई आफ्नो पक्षमा ल्याउन उनीहरूले के के गरे त्यस विषयमा बिस्तारै छलफल हुने होला भन्दै उम्किन खोजे ।

प्रकाशित मिति : पुष १३, २०७६ आईतबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]