सम्पादकीय : घरेलु हिंसा नलुकाऊ

झापामा भर्खरै इन्सेकले सार्वजनिक गरेको एक प्रतिवेदनमा आश्चर्यको तथ्याङक आएको छ । सयौं घटनामा घरेलु हिंसाको संख्या शून्य देखियो । अनौपचारिक शिक्षा क्षेत्र (इन्सेक) ले सन् २०१९ को जनवरी १ देखि नोवेम्वर १६ सम्मको घटना सार्वजनिक गर्ने क्रममा घरेलु हिंसाको संख्या नदेखिनुले चकित बनाएको छ । हरेक गाउँघरमा घरेलु हिंसा भइरहेको छ । स्थानीय सरकारमा घरेलु हिंसाको मुद्धा दिनहु आइरहेको छ । तर, इन्सेकको प्रतिवेदनमा त्यस्ता घटना समावेश हुन सकेन । त्यसको मुख्य कारण दर्ता नहुनु हो । अड्डा अदालतसम्म यस्ता घटना नपुग्नुले हिंसालाई थप प्रोत्साहन मिलेको छ ।
घरेलु हिंसाको दर उच्च छ । तर, घरायसी विवाद आफै मिलाउने भन्दै मुद्धा दर्ता भइरहेको अवस्था छैन । घरेलु हिंसालाई मेलमिलापबाट सकाउने प्रबृत्तिले सामाजिक संरचनामा असर पु¥याइरहेको छ । घरभित्रको हिंसाले नेपाली समाजमा समस्या बढाइरहेको छ । यसको नियन्त्रण गर्न कानुनी कारवाही जरुरी हुन्छ । कानुनी कारवाहीको दायरासम्म यस्ता घटना नपुग्दा पीडिकलाई उन्मुक्ति मिलिरहेको छ । कानुनी राज्यमा यस्ता गम्भीर प्रकृतिका घटनालाई लुकाउदा ठुलो दुर्घटना निम्तिने निश्चित छ । अब कसैले पनि घरेलु हिंसालाई दवाउने काम गर्न हुदैन ।
एक वर्षमा झापामा १ सय ७५ घटना भएको प्रतिवेदन सार्वजनिक भयो । सार्वजनिक गरेको प्रतिवेदनमा हत्याको घटना ८ , कथित बोक्सी आरोप २, हत्या प्रयास २, बलात्कार ९० , बलात्कार प्रयास १७ , बहुविवाह १९ , मानव बेचविखन १०, हिरासतमा मृत्यू १, गिरफ्तारी १, शिशु हत्या २, भौतिक संरचना ५ , अपहरण १ अप्राकृतिक मैथुन १, जवरजस्ती यौन कार्यमा लगाएको ४, गाली बेइज्जती ११ र अमानवीय व्यवहारको एउटा घटना उल्लेख भएका छन् । जम्मा घटना संख्यामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । यसतर्फ स्थानीय सरकार र अधिकारकर्मीले ख्याल गर्न आवश्यक देखिएको छ । हिंसाका घटना दवाव र प्रभावमा मिल्दैछन् भने खवरदारी गरेर कानुनी राज्यको महसुस गराउनुपर्छ ।