साँझबाट फेरि वर्षा र हिमपातको सम्भावना
काठमाडौं : वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मंगलबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए।

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। ‘आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको छ’, मौसमविद् कँडेलले भने। पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ।
राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम १६.३ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.३ डिग्री सेल्सियस रहेको छ।