रियल मड्रिड स्पेनिस सुपर कपकाे फाइनलमा
का – रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा भएको सेमिफाइनलमा भ्यालेन्सियालाई तीन–एक गाेल अन्तरले हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो । रियलको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक–एक गोल गरे ।

१५औँ मिनेटमा क्रुजले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । क्रुजले प्रहार गरेको कर्नर किक भ्यालेन्सियाका गोलकिपर जाउमे दोमेनेचले पन्च गरेका थिए । त्यही बल पाएका क्रुजले डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।
त्यस्तै ३९औँ मिनेटमा इस्कोले गोल गर्दै पहिलो हाफअघि रियल मड्रिडको अग्रता दुई–शून्यमा पुर्याए । ६५औँ मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई तीन–शून्यकाे अग्रता दिलाए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पायो र त्याे पेनाल्टीलाई डानी पारेजोले गोलमा परिणत गरे । उपाधिका लागि रियलले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार राति हुँदैछ ।