मेची अञ्चल अस्पतालमा बेवासिरे महिला , आफन्त खोजिदिन प्रशासनको अनुरोध
झापा । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा बेवासिरे अवस्थामा रहेकी महिलाको आफन्त खोजिदिन वा अस्पताल प्रशासनले अनुरोध गरेको छ । प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी ती महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको हो ।

प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी ती महिला ।
राम्ररी बोल्न, आँखा देख्न र कान सुन्नसमेत नसक्ने ती महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइपुगे भन्ने थाहा नपाउने उनले छिरिङ नाम गरेको छोरो रहेको र आफ डिकी तामाङ भएको बताउँछिन् ।
दोहोरो कुराकानी गर्न नसक्ने उनी ६० वर्ष माथिको उमेर समूह जस्तो देखिन्छिन् । उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा भर्ना गराएको थियो । यस बीचमा अस्पताल प्रशासनले आफन्तको खोजीका लागि विभिन्न प्रयास गरे पनि सफलता नमिलेको जनाएको छ ।
मेडिकल वार्डका इन्चार्ज विपि चौधरीका अनुसार ती महिलाको रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले दैनिक सय रूपैया दिएर सरसफाइका लागि खर्च गरिरहेको छ । उनले भने, ‘आफैं हिडडुल गर्न नसक्ने बृद्धको उद्धार गर्न कुनै संस्थाले जिम्मा लिए अस्पतालले अन्य बिरामीका लागि समय र श्रम खर्चने थियो ।’
महिलाको आफन्तको खोजीमा लागिपरेकी सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बाले सञ्चार माध्यमलगायत विभिन्न व्यक्ति मार्फत खोजी गरेपनि कोही फेला नपरेको बताइन् ।