बेवारिसे महिलाको उद्धारमा मानवअधिकारकर्मीको प्रयास असफल
भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे रूपमा रहेकी महिलाको आफन्त नभेटिएपछि मानव अधिकारकर्मीहरूले गरेको उद्धार प्रयास असफल भएको छ ।

शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मातहत रहेको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा मानव अधिकारकर्मीले लान लाग्दा अञ्चल अस्पताल प्रशासनले आधिकारिकताको बाहनामा अवरोध गरेपछि उद्धार प्रयास विफल भएको हो ।
उद्धारका लागि मानव अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रेखा अधिकारी र ऋषि चापागाई जिल्ला प्रहरी कार्यालय झापाबाट आधिकारिक स्वीकृति लिएर अञ्चल अस्पताल जान लाग्दा मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले संरक्षण गृहको आधिकारिक पत्र र व्यक्ति लिएर आए मात्र ती महिला हस्तान्तरण गर्ने अडान राखेपछि अधिकारकर्मी फर्किएका थिए ।
उद्धारमा लागेका दिपक दासका अनुसार प्रहरी प्रशासनबाट उद्धार गर्न स्वीकृति पाए पनि अस्पताल प्रशासन प्रमुखले बढी आधिकारिकता खोजेपछि उद्धार असफल भएको छ । दासले दिएको जानकारी अनुसार दर्जन बढी बेसहारा व्यक्तिहरूको उद्धार गर्दा आश्रय स्थलको आधिकारिकता नचाहिएको तर यस घटनामा आश्र स्थलको आधिकारिकता खोजिनुले मानवीय सेवामाथि प्रहार गर्न खोजिएको हो ।
यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भने बेसाहा रहेकी ती महिलाको उद्धार गर्न मानव अधिकारकर्मीलाई सहज बनाइ दिन प्रमुख जिल्ला अधिकारी लगायत प्रशासनिक निकायसित सहजीकरण गरेको बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुर भने ती महिलाको उद्धार गर्न सरकारी नियम अनुसारको प्रकृया पूरा गरेर आउन आग्रह गरेको बताउँछन् ।
राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने ती महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । अधबैंसे उमेर समूह जस्तो देखिने ती महिलालाई झापा प्रहरीले खुट्टा भाँचिएको अवस्थामा असोजमा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो ।