परीक्षामा धाँधलीको धन्दा
दिवाकर प्याकुरेल
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको आँगनमा २०७५ वैशाखका पाँच बिहानीहरूमा परीक्षामा निरीक्षक माधव नेपालले लगातार जे देखे, त्यो उनको स्मृतिमा अझैं ताजै छ ।

त्योबेला लक्ष्मी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा कक्षा ११ को परीक्षा हुँदै थियो । त्यहाँ विभिन्न विद्यालयका ८ सयभन्दा बढी परीक्षार्थीहरू सहभागी थिए । लक्ष्मी माध्यमिक विद्यालयमै शिक्षकका रूपमा कार्यरत रहेका नेपाल त्यो परीक्षामा निरीक्षक (गार्ड) का रूपमा खटिएका थिए । परीक्षा भइरहेका बेला उनी कहिलेकाहिँ हलबाहिर आँगनतिर हेर्थे, जहाँ त्यही विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम डाँगी फ्रेन्च–कट दाह्री र सनग्लासमा ठाँटिँदै यताउता हिँडिरहेका हुन्थे ।
ति बेला नेपाललाई त्यो दृश्य देख्दा कुनै अनौठो लागेन । तर, पाँच महिनापछि जब कक्षा ११ को परीक्षाको नतिजा निस्कियो, तब उनी जिल्ल परे । त्यो परीक्षा अवधिभर प्रायः बाहिरै देखिएका डाँगीले पनि शनिश्चरे माध्यमिक विद्यालयबाट कक्षा ११ पास गरे भन्ने हल्ला चल्यो । उनले २.९८ जीपीए अंक ल्याउँदै त्यो विद्यालयभरि प्रथम भएको भनियो ।
“परीक्षा पाँच दिन चल्यो, तर मैले एकै दिन पनि डाँगी सरलाई परीक्षा हलभित्र देखिनँ,” नेपाल भन्छन्, “तैपनि, उहाँले परीक्षामा सबैलाई उछिन्नुभएछ । यो त एकदमै उदेकलाग्दो भयो ।”
परीक्षामा सामेलै नभई डाँगीले टप गरेको भन्ने नेपालको भनाइ साँचो हो–होइन भन्ने बुझ्न अनलाइनखबरले अर्जुनधारा नगरपालिकाका ६ जना स्थानीय बासिन्दासँग कुरा गर्यो । उनीहरू सबैले नेपालको भनाइ पुष्टि गरे– हो, डाँगी परीक्षामा सहभागी भएकै थिएनन् । डाँगीले आफ्नो ठाउँमा श्रीमती माया गौतमलाई परीक्षा दिन लगाएको उनीहरूको दाबी छ ।
श्रीमतीलाई आफ्नो नामबाट परीक्षा दिन लाउन डाँगीले लक्ष्मी माध्यमिक विद्यालयकै प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तासँग मिलेमतो गरेको पनि स्थानीयबासीको दाबी छ । उनीहरू भन्छन्– डाँगीकै योजनाअनुसार गुप्ताले उनलाई त्यो परीक्षा केन्द्रको सहायक प्रमुख तोकेका थिए ।
तर, सबै कुरा डाँगीले सोचेझैं भइदिएन । शिक्षक माधव नेपाल र अन्य स्थानीयबासीले डाँगीको पोल खोलिदिए । उनीहरूले डाँगीको धाँधलीविरुद्ध विरोध समिति गठन गर्दै उनको र उनलाई सघाउने प्रधानाध्यापक गुप्ताको राजीनामा माग गरे । अन्ततः डाँगी र गुप्तामाथि लागेको आरोपको छानबिन गर्न स्थानीय प्रशासनले एउटा समिति नै बनाउनुपर्यो।
यस विषयमा डाँगीको प्रतिक्रिया लिन अनलाइनखबरले उनको मोबाइलमा सम्पर्क गरेको थियो । तर, फोन उनकी श्रीमतीले उठाइन् र भनिन्, “छानबिन समितिले हामीलाई सफाइ दिइसकेको छ अरे । मुद्दा टुंगिइसकेको छ अरे । फेरि कोट्याइराख्नुपर्छ र ?”
डाँगी नेपालको उच्च माध्यमिक परीक्षामा धाँधली गर्ने न पहिलो व्यक्ति हुन्, न अन्तिम नै । अनलाइनखबरले दुई महिना लाएर गरेको खोजले देखाएको छ – सरकारी अधिकारी, स्कुल प्रशासक, शिक्षक र अभिभावकहरूले समेत आफ्नो आर्थिक, राजनीतिक र प्रशासकीय अधिकार, प्रभाव एवं सम्पर्क प्रयोग गर्दै परीक्षामा धाँधली गर्दै आएका छन् । परीक्षा प्रणालीमा यति धेरै कानुनी छिद्रहरू छन् कि उनीहरूले धाँधली गरे पनि कुनै दण्ड पाउँदैनन् ।
त्रुटिपूर्ण संयन्त्र
अनलाइनखबरसँग कुरा गरेका शिक्षक, अधिकारकर्मी र गाउँलेहरूका अनुसार, शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफू सहायक प्रधानाध्यपक रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आएर परीक्षा दिनुपर्छ भन्ने थाहा पाएरै डाँगी त्यो विद्यालयमा भर्ना भएका थिए । परीक्षा केन्द्रहरू निर्धारण गर्ने राष्ट्रिय परीक्षा बोर्डको त्रुटिपूर्ण कार्यविधिले समेत डाँगीलाई आफ्नो ठाउँमा श्रीमतीलाई परीक्षा लेख्न लगाउन सहज बनाएको थियो ।
तीन वर्षअघि उच्च माध्यमिक शिक्षा परिषद्लाई प्रतिस्थापन गर्दै अस्तित्वमा आएको यो बोर्डले अझै नयाँ परीक्षा सञ्चालन कार्यविधि बनाइसकेको छैन ।
बोर्डका कार्यवाहक परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा भन्छन्, “हामी अझैं संक्रमणकै चरणमा छौँ ।”
तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्मा प्रवक्ता एवं उप–परीक्षा नियन्त्रक रहेकी जयन्ती सत्यालको भनाइमा परीक्षा केन्द्रहरू निर्धारण गरिँदा विभिन्न पक्षमा ध्यान दिनुपर्ने हुन्छ । कुनै विद्यालयलाई परीक्षा केन्द्र तोक्दा त्यहाँ परीक्षा सञ्चालन गर्न पर्याप्त कक्षाकोठा एवं अन्य आधारभूत संरचनाहरू उपलब्ध छन्–छैनन् र त्यो विद्यालय सबै परीक्षार्थीहरूको पायकमा छ कि छैन भन्ने पनि हेरिनुपर्छ ।
संवत् २०५५मा उच्च माध्यमिक शिक्षा परिषद्ले पारित गरेको नियमावलीमा यी कुराहरू उल्लेख त छन्, तर त्यसबारे विस्तृत विवरणहरू कतै पनि छैनन् । यसकारण, एउटै विद्यालयलाई वर्षौंसम्म परीक्षा केन्द्र तोकिँदै आएको छ ।
बोर्डले प्रयोग गर्दै आएको यो दुई दशक पुरानो नियमावलीका विभिन्न प्रावधानहरूलाई संशोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तदर्थवादी शैलीमा पटक–पटक निर्देशन दिँदै आएको छ ।
पुरा समाचार यहाँ हेरौं ; परीक्षामा धाँधलीको धन्दा