राजीव ४८ वर्षमा बने नेविसंघका अध्यक्ष
काठमाडौं : विधान अनुसार नेतृत्व चयन हुनुपर्ने मागसहित आमरण अनशन बसिरहेका नेता नवराज त्रिपाठीको मागलाई बेवास्ता गर्दै कांग्रेसले नेविसंघको नेतृत्व मनोनयन गरेको छ। विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण चलिरहेका बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ वर्षीय राजीव ढुंगानालाई भातृ संगठन नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन्।

गत शुक्रबार भएको सहमति अनुसार ढुंगानालाई सभापति देउवाले नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गते बसेको बैठकको निर्णय अनुसार पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएको नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगानालाई नियुक्त गर्नु भएको छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ।
सभापति देउवाले ढुंगानालाई अध्यक्षमा मनोनित गरेसँगै महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुवँरलाई चयन गरेका छन्। मुख्य सचिव पौडेलका अनुसार यो तदर्थ समितिले आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको १२औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ। ‘आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ’, पौडेलले भने, ‘तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्।’
पौडेलका अनुसार यसअघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले अधिवेशनमा भाग लिन पाउनेछन्। नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पनि पौडेलले जानकारी दिए।