तामझामसहित फोक्सटन सीटीसँग मेचीनगरको सम्झौता
मेचीनगर । तामाझामका साथ मेचीनगरले भगिनी सम्बन्ध जोडेको छ । भगिनी सम्बन्धका लागि बेलायतको फोक्सटन सीटी र मेचीनगर नगरपालिकाबीच औपचारिक रुपमा सोमवार सम्झौता भएको हो । दुवै नगरका मेयरले सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरेको घोषणा गरेका छन् ।

भगिनी सम्बन्ध सम्झौता कार्यक्रममा फोक्सटन सिटीका प्रमुख जेकी माइडले शिक्षा स्वास्थ्य र सुरक्षाको सवालमा सहकार्य गर्ने बताएकी छन् । उनले दुई नगर बिचको सम्बन्धलाई भगिनी सम्बन्धले थप मजबुत बनाएको बताउँदै आगामी दिनमा मेचीनगरको विकास निर्माणमा सहयोग गर्ने जिकिर गरेकी छन् । उत्कृष्ट विधार्थी र जिल्लाका ५ प्रहरीलाई बेलायत लगेर दक्ष बनाइ नेपाल पठाउने र यहाँ दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने उनको भनाई थियो ।
उनले मेचीनगरका सबै विधालयसँग शिक्षाको गुणस्तर विकासमा हातेमालो गर्ने बताइन् । विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा साथ दिने बताइएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख आचार्य र बेलायतको फोक्सटन सिटीका प्रमुख माइडले कार्यक्रमको अध्यक्षता गदैं यो क्षण ऐतिहासीक भएको भन्दैं यसले नेपालको मेचीनगर र बेलायतको फोक्सटन सिटीसँगबीचको हितेरी साइनो औपचारिकरुपमा मितेरी साइनोमा रुपान्तरण भएको विचार राखेका थिए ।
यसले दुई देश अनि दुई नगरबीच देशवासी र नगरवासीको सम्बन्धलाई अझ प्रगाढ बनाएको दुवै नगरका लागि ऐतिहासीक भएको बताए । नेपाल र वेलायतबीचको सम्बन्ध धेरै पुरानो र मैत्रीपुर्ण भएको भन्दैं यसले अझ नजीक बनाएको विचार दुवै नगरप्रमुखहरुको थियो । नगरप्रमुख आचार्यले यो औपचारिकतासँगै अझ सहयोग ,सम्बन्ध र सद्भाव विस्तारका नयाँ आयामहरु खुल्ने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, उषा गुरुङ, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियर म्यान रे जोनसनलगायतले भगिनी सम्बन्धलाई रचनात्मक सहयोग आदानप्रदान गर्ने साइनो रुपमा परिणत गर्न भनेका छन् । यो सम्बन्धले दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्न एक अर्काबीचका कला, संस्कृति रीतिरिवाजलाई सजिलै चिन्ने अवसर मिलेको बताएका छन् ।