रुपान्तरणका लागि झापामा युवा सम्मेलन
बिर्तामोड । झापामा पहिलो पटक रुपान्तरणका लागि युवा सम्मेलन सुरु भएको छ । जिल्ला समन्वय समिति र कारितास नेपालको संयुक्त आयोजना आयोजित दुई दिने जिल्ला सम्मेलनमा झापाका ७० जना युवा सहभागी भएका छन् ।

झापा जिल्ला युवा सम्मेलन ( युथ समिट–२०७६) मा जिल्लाका १५ वटै स्थानीय तहबाट युवा उमेर समूहका जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल युवा, युवा उद्यमी व्यवसायी, विभिन्न संघ संस्थामा आवद्ध युवा , राजनीतिक दलका युवा र विधार्थी सहभागी भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
सामाजिक, सांस्कृतिक रुपान्तरण र समृद्धिका लागि युवा अग्रसरता भन्ने नारा सहित शुरु भएको युवा सम्मेलनको आज प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले उद्घाटन गरेकी छन् । उनले युवा नै राष्ट्रको शक्ति भएकाले सचेत र सजग बन्नुपर्ने बताइन् । सांसद खरेलले रुपान्तरणमा युवाको भूमिका महत्वपूर्ण भएकाले सोहि अनुसार परिचाल हुन आग्रह गरेकी छन् ।
कार्यक्रममा ६ वटा शिर्षकमा कार्यपत्र प्रस्तुत हुने छ ।

पहिलो चरणमा इन्द्र प्रसाद ओलीले लागु औषध दुव्र्यसन विरुद्ध युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । सो कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला र गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले टिप्पणी गरेका छन् । सोहि विषयमा सहभागीले सूझाव सहित जिज्ञासा राखेका छन् ।
दोस्रो चरणमा कमल कोइरालाले दिगो विकास लक्ष्यमा युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । उनको कार्यपत्रमा युवा नेता सिपि कडरिया र एस.एन.जे.डीका कुमार चुडालले टिप्पणी गर्ने प्रमुख पोर्तेलले जानकारी दिए ।
उनका अनुसार पहिलो दिनको अन्तिम कार्यपत्र सञ्जय चौधरीले युवा परिचालन ( स्वयमसेवा, विपत जोखिम न्यूनिकरण र विकास निर्माण) विषयक प्रस्तुत गर्नेछन् । त्यसको टिप्पणीकारको रुपमा युवा नेता शिव ढुङ्गेल र जिल्ला युवा समिति झापाका अध्यक्ष छवि चुडाल रहेका छन् ।
दोस्रो दिन आइतवार राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवा स्वरोजगार र उद्यमशिलता, जिल्ला युवा समिति इलामका अध्यक्ष एवम् युवा नेता नवराज शंकरले सामाजिक सांस्कृतिक रुपान्तरणमा युवा अग्रसरता र अन्तिममा पूर्वमन्त्री एवम् सांसद् महेश बस्नेत र नेपाली कांग्रेसका नेता बद्री पाण्डे बिच राज्यको नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता विषयक प्यानल डिस्कशन हुने कारितास नेपालका दमक प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । सम्मेलनले झापा घोषणा पत्र सार्वजनिक गर्ने बताइएको छ ।